अख्तियारले डोटीका नौ वटा पालिकाहरुसंग गाडी खरीदसम्बन्धी कागजपत्र माग

0

महेन्द्रनगर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले डोटीका नौ वटा पालिकाहरुसंग गाडी खरीदसम्बन्धी कागजपत्र माग गरेको छ । त्यहाका पालिकाहरुले आफूखुशी धमाधम गाडी किनेको समाचार सञ्चारमाध्यममा आएपछि आयोगले डोटीका सबै स्थानीय तहहरूसंग गाडी खरीदसम्बन्धी कागजपत्र पेश गर्न माग गरेको हो । आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले स्थानीय तहहरूले गाडी खरिद गरेको बारेमा धेरै उजुरी आएकाले खरीद प्रक्रियासंग सम्बन्धित कागजपत्र माग गरेको जानकारी दिनुभयो । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लाका पालिकाहरूले २०७४ साल साउनदेखि २०७५ साल पुस मसान्तसम्म १० करोड ९३ लाख ८६ हजार रुपैया मूल्यका गाडी खरीद गरेका छन् । डोटीको जिल्लाको पूर्विचौकी गाउँपालिकाले गाडी खरिदमा सबैभन्दा बढी २ करोड ६७ लाख ५५ हजार रुपैयाँ खर्च गरेको छ ।१० ओटा मोटरसाइकल, पिकअप जीप, एक्स्क्याभेटर र दुई वटा बस खरिदमा त्यति रकम खर्च भएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो । त्यस्तै शिखर नगरपालिकाले १ करोड ५४ लाख २९ हजार रुपैयाँ, दिपायल सिलगढी नगरपालिकाले १ करोड ६ लाख ८७ हजार रुपैयाँ, बडीकेदार गाउँपालिकाले १ करोड ८१ लाख ७९ हजार रुपैया खर्च गरेको देखिएको छ । त्यसैगरी सायल गाउँपालिकाले १ करोड ५६ लाख १६ हजार रुपैयाँ, केआईसिँह गाउँपालिकाले ९३ लाख ८२ हजार, बोगटान गाउँपालिकाले रु ७६ लाख १३ हजार, जोरायल गाउँपालिकाले रु ५८ लाख ३८ हजार तथा आदर्श गाउँपालिकाले ५७ लाख २२ हजार रुपैयाँ खर्च गरेको देखिएको छ । पालिकाहरूले खरिद गरेका एउटै कम्पनी तथा एउटै खालका गाडीहरुको मूल्य भने फरक फरक रहेको पाइएपछि अख्तियारमा उजुरी परेको हो । जनताको विकासका लागि आएको बजेट स्थानीयतहका जनप्रतिनिधिले आफूखुशी गाडी किन्नमै खर्च गरेकोमा स्थानीयहरु निकै आक्रोशित छन् ।

Share.

About Author

Leave A Reply