कञ्चनपुरको महत्वपुर्ण पर्यटकिय स्थल महाकाली नदीमाथि बनेको झोलुङ्ग पुलको अवस्था जीर्ण बन्दै

0

महेन्द्रनगर
कञ्चनपुरको महत्वपुर्ण पर्यटकिय स्थल महाकाली नदीमाथि बनेको झोलुङ्ग पुलको अवस्था जीर्ण बन्दै गएको छ । कञ्चनपुरकै एक पर्यटकिय क्षेत्रको अवस्था जीर्ण हुदै जादा समेत सरोकारवालाहरुले ध्यान दिएको बताएपनि काम भने हुन नसकेको कतिपयले गुनासो गरेका छन् । स्थानिय सरकार र जनप्रतिनिधिहरु आईसक्दा समेत पर्यटकिय क्षेत्रको मर्मत सम्भार र विकासमा प्रगति हुन नसकेको उनीहहरुको गुनासो छ । एसिया महादेशमै दोस्रो लामो तथा प्रसिद्ध झोलुङ्गे भीमदत्तनगरको महेन्द्रनगर बजारबाट १० किलोमिटरको पश्चिम दूरीमा रहेको छ । महाकाली नदीमा निर्माण गरिएको एक हजार ४५६ मिटर लम्बाइको उक्त झोलुङ्गे पुल एसियाकै दोस्रो लामो पुल मानिन्छ । विसं २०६१ सालमा निर्माण गरिएको सो पुल दोधारा चँदनीका बासिन्दालाई सदरमुकाम महेन्द्रनगर तथा देशका अन्य भूभागसित जोड्ने एक मात्रै विकल्पका रुपमा रहेको छ । तर सो पुलको मर्मतसम्भार गर्नका लागि सरोकारवालाहरुले चासो नदिएका कारण पुलको मर्मत सम्भार अझै हुन सकेको छैन् । सो पुलको मर्मतसम्भार गर्नका लागि संघ सरकार अन्र्तगतको सामान्य प्रशासन मन्त्रालय मातहतको झोलुङ्गे पुल महाशाखाले काम गरी रहेको महाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीले जानकारी दिनु भयो । झोलुङ्गे पुलको मर्मत गर्नका लागि सुदुरपश्चिम प्रदेश सरकारले रु.५० लाख विनियोजन गरेको समेत नगर प्रवक्ता सिजालीले जानकारी दिनु भयो । सामान्य किसिमका समस्याहरु समाधान गर्न र मर्मत गर्न महाकाली नगरपालिकाले पनि करीब रु.१० लाख बजेट विनियोजन गरेको उहाले बताउनु भयो । पर्यटकिय विकासका लागि झोलुङ्गे पुलको मर्मत सम्भार र विकास अनिवार्य भएकाले नगरपालिकाले सरोकारवालाहरुसंग समन्वय गरी रहेको महाकाली नगरपालिकाले दाबी गरेको छ । तर झोलुङ्गे पुलको विकासका लागि अझै सबै सरोकारवालाहरुको ध्यान जानुपर्ने सरोकारवालाहरुले बताएका छन् । साथै महाकाली नगरपालिकामा पर्यटकहरुको संख्या बढाउने उद्येश्यले महाकाली नगरपालिकाले भ्यु टावर निर्माण गर्ने प्रक्रियामा रहेको नगरपालिकाले जानकारी दिएको छ । भ्यु टावर निर्माणका लागि डिपीआर तयार भइ सकेको र अब टेण्डरमा जाने समेत जनाइएको छ । त्यस्तै महाकाली नगरपालिकाभित्रै रहेको सुनौलो तालको पनि विकास गर्ने उद्येश्यले सरसफाई गर्नुका साथै फलफुलका विरुवा रोपि सकेको र महाकाली नगरपालिका भित्रै रहेको ईन्द्रा सामुदायिक वनभित्र पिकनिक स्पोट बनाउने तयारीमा रहेको समेत नगरपालिकाले जानकारी दिएको छ ।

Share.

About Author

Leave A Reply