कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर २ मा खानेपानीको चरम समस्या

0

महेन्द्रनगर, जेठ ३१
कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर २ मा खानेपानीको चरम समस्या भएको छ । विगतदेखि नै खानेपानीको समस्या भोग्दै आएका वडा नम्बर २ का वासिन्दाहरु यस वर्षपनि खानेपानीको चरम समस्या भोग्न बाध्य भएका हुन् । संघ सरकारले वडा नम्बर २ मा करीब १० करोडको झरना खानेपानी योजना ल्याएको भएपनि समयमै बजेट नछुटयाउदा खानेपानीको समस्या यथावत रहेको वडा नम्बर २ का वडा अध्यक्ष नरेश बहादुर सिहले बताउनु भयो । नेपालमा संघीयता आउनु भन्दा पहिले संघ सरकारले छुट्याएको योजना अर्थात संघीयता भन्दा जेठो खानेपानी योजना संघीयता आएसंगै सुदुरपश्चिम प्रदेश सरकार मातहत आएको छ । तर सुदुरपश्चिम प्रदेश सरकार मातहत आएको योजना समयमै सम्पन्न गर्नका लागि पटक पटक प्रदेश सरकारको ध्यानाकर्षण गराएको भएपनि प्रदेश सरकारले सो योजना सञ्चालन गर्नका लागि कुनै पहल नगरेको वडा अध्यक्ष सिहले बताउनु भयो । साथै उहाले वडा नम्बर २ मा खानेपानीको समस्या समाधान गर्नका लागि आफुले दृर्ण संकल्पका साथ काम गरी रहेको भएपनि प्रदेश सरकारले खानेपानी योजना सञ्चालन गर्नका लागि पहल नगरीरहेको बताउनु भयो । खानेपानीका कारण भइ रहेको समस्याको जिम्मेबारी सुदुरपश्चिम प्रदेश सरकारले लिनु पर्ने उहाको भनाई छ । करीब १० करोडको योजनामा अहिलेसम्म बाउन्ड्री मात्रै निर्माण भएको छ । तर बाकी रकम सरकारले नछुट्याउदा वडा नम्बर २ का वासिन्दाहरु खानेपानीको अभावमा काकाकुल भइ रहेको वडा अध्यक्ष नरेश बहादुर सिहले बताउनु भयो । वडामा खानेपानीको चरम समस्या भएकाले खानेपानी बोक्नकै लागि टाढाटाढा जानु पर्ने बाध्यता रहेको वडा नम्बर २ का वासिन्दाहरुले बताएका छन् । गर्मीयाममा खानेपानीको समस्या हुदा बालबालिका तथा वृद्धवृद्धाहरुलाई झनै समस्या भएको वडा नम्बर २ का वडावासीहरुको भनाई छ । टाढाटाढाबाट बाल्टिनमा पानी बोकेर ल्याउनु पर्ने समस्या रहेको वडा नम्बर २ का वासिन्दा पदमा देवी पाण्डेयले बताउनु भयो ।

बैशाख जेठको महिना शुरु हुनासाथ नल तथा अन्य खानेपानीका स्रोतहरु सुक्ने भएकाले प्रत्येक वर्ष खानेपानीको समस्या भोग्नु परी रहेको उहाले बताउनु भयो । जनप्रतिनिधीहरुले चुनावका वेला भोट माग्न आउदा खानेपानीका योजना सञ्चालन गर्ने मुख्य चुनावी एजेन्डा लिएर आउने गरेका भए पनि चुनाव जितेर गए पछि खानेपानीको समस्या समाधान नगरेको उहाको भनाइ छ । वडा नम्बर २ का वडा अध्यक्ष नरेश बहादुर सिहले वडा नम्बर २ का ७ सय घरपरिवारलाई शुद्ध खानेपानी आपूर्ति गर्ने लक्ष्य राखी शुरु भएको योजना अहिले बजेट अभावका कारण थला परेको बताउनु भयो । संघ सरकारसंग खानेपानी योजना संचालनका लागि पटकपटक आग्रह गरीएको भएपनि अहिलेसम्म योजना सञ्चालन गर्नका लागि संघ सरकारले पहल भने नगरेको वेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले बताउनु भयो । संघ सरकारका खानेपानी मन्त्री बिना मगरसंग सो योजना सञ्चालन गर्नका लागि पहल गरीदन आग्रह गरेको भएपनि मन्त्री मगरले आफुले २५।३० लाख जनसंख्या रहेको क्षेत्रका योजना मात्रै हेर्ने जिम्मेवारी भएको उहाले बताउनु भयो । आगामी आर्थिक वर्षको बजेटमा सुदुरपश्चिम प्रदेश सरकारले वडा नम्बर २ मा झरना खानेपानी योजनाका लागि बजेट छुट्याउने आश्वासन दिएकाले केही आशा गर्ने ठाउ भने रहेको वडा अध्यक्ष नरेश बहादुर सिहले बताउनु भयो । प्रदेश सरकारले आफु मातहत आएको झरना खानेपानी योजनाका लागि समयमै रकम विनियोजन नगर्दा वेदकोट नगरपालिकाको वडा नम्बर २ का बासिन्दाहरु खानेपानीको समस्या झेल्न बाध्य भएका छन् । त्यसैले आफुहरु खानेपानीको चरम समस्यामा रहेको हुदा तीनै तहका सरकारहरुले र सरोकारवालाहरुले खानेपानी योजना सञ्चालनका लागि पहल गरीदिनु पर्ने वडा नम्बर २ का बासिन्दाहरुको माग रहेको छ ।

Share.

About Author

Leave A Reply