कञ्चनपुरमा छाडाचौपायाको उचित व्यवस्थापन अझै हुन नसक्दा सडक दुर्घटनाको सम्भावना बढ्दै

0

महेन्द्रनगर, भाद्र २८
कञ्चनपुरमा छाडाचौपायाको उचित व्यवस्थापन अझै हुन नसक्दा सडक दुर्घटनाको सम्भावना बढ्दै गएको छ । मुख्यगरी कञ्चनपुरका भीमदत्त, वेदकोट तथा शुक्लाफाटा नगरपालिकामा छाडा चौपायाको समस्या विकराल बन्दै गइ रहेको छ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा छाडाचौपायाको उचित व्यवस्थापन नहुदा सवारी चालक तथा बटुवाहरुलाई समेत समस्या भइ रहेको छ । छाडाचौपायाको व्यवस्थापन नहुदा गाडी नै हाक्न हम्मेहम्मे पर्ने गरेको सवारी चालक तीर्थराज जोशीले गुनासो गर्नु भयो । राजमार्गमै छाडाचौपायहरुले बसिदिदा गाडीलाई हाक्न समस्या हुने गरेको बताउदै उहाले यसबाट दुर्घटनाको जोखिम पनि बढेको बताउनु भयो । कञ्चनपुरका स्थानिय सरकारहरुले छाडाचौपायाको व्यवस्थापन गर्न भनि अभियान नै चलाएका भएपनि छाडाचौपायाको व्यवस्थापन हुन नसकेको राजमार्गमा भेटिनु भएका मोटरसाइकल चालक भीमदत्त नगरपालिकाका राजेन्द्र बोहराले गुनासो गर्नु भयो । चुनावका बेला छाडा चौपायाको व्यवस्थापन गर्ने चुनावी नारा लगाएका जनप्रतिनिधीहरुको ध्यान व्यवस्थापनमा अझै जान नसकेको नगरवासीहरुको समेत गुनासो छ । भीमदत्त नगरपालिकाले विगतका वर्षमा गौशाला नै निर्माण गरी छाडाचौपायाको व्यवस्थापन गर्ने कार्य थालनी गरेको भएपनि अहिले त्यो कार्य पनि खासै प्रभावकारी नभएको भीमदत्त नगरपालिकाको वडा नम्बर १८ का वडावासी खगेन्द्रराम जोशीले बताउनु भयो । यता भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले पनि विगतका वर्षमा गौशाला नै निर्माण गरी छाडा चौपायाको व्यवस्थापन गर्न अभियान नै शुरु गरीएको भएपनि यो चालु आर्थिक वर्षमा अहिलेसम्म छाडा चौपायाको व्यवस्थापनका लागि केही पनि नगरेको स्वीकार गर्नु भयो । भीमदत्त नगरपालिकाको वडा नम्बर १९ का वडा अध्यक्ष दामोदर महराले नगरपालिकासंग सम्झौता गरी वडा नम्बर १९ मा गौशाला निर्माण गरेको झापा गैरीगाउका फर्म सञ्चालकले पनि छाडा चौपायाको व्यवस्थापनमा खासै ध्यान नदिएको पाइएको बताउनु भयो । नगरपालिकाले फर्म सञ्चालकसंग सम्झौता गरेको भएपनि त्यो सम्झौता अनुसार खासै काम गरेको नदेखिएको उहाले बताउनु भएको छ । वडा नम्बर १९ मा निर्मित गौशालामा अहिले करीब ८० ओटा छाडाचौपाया राखिएका छन् । तर तिनीहरुको उचित व्यवस्थापन भने नभएको पाइएको हो । यस्तै समस्या कञ्चनपुरकै शुक्लाफाटा नगरपालिकामा पनि देखिएको छ । शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले छाडाचौपायाको व्यवस्थापनका लागि धेरै प्रयास गरेको बताएपनि छाडाचौपायाको पुर्ण व्यवस्थापन भने हुन नसकेको पाइएको हो । शुुक्लाफाटा नगरपालिकाका प्रमुख दिल बहादुर ऐरले नगरपालिकाको वडा नम्बर ८ मा गौशाला निर्माण गरी छाडाचौपायाको व्यवस्थापन गरी रहेको बताउदै सडक दुर्घटना न्युनीकरण गर्न तथा नगरवासीहरुको खेतीपाती जोगाउन छाडाचौपायाको व्यवस्थापन गरी रहेको बताउनु भयो । उहाका अनुसार शुक्लाफाटा नगरपालिकामा विभिन्न समितिहरु मार्फत छाडा चौपायाको व्यवस्थापनको काम भइ रहेको छ । कञ्चनपुरकै वेदकोट नगरपालिकामा पनि छाडा चौपायाको समस्या विकराल बन्दै गइ रहेको छ । नगरपालिकाको कार्यालय नजिकै रहेको चौधर नदी माथिको पुलमा छाडाचौपायको भीड नै देख्न सकिन्छ । सो पुलमा मात्रै हैन वेदकोट नगरक्षेत्र भित्र पर्ने राजमार्गमा छाडाचौपायाले राजमार्ग अवरुद्ध नगरेको ठाउ नै भेटाउन मुस्किल भएको वेदकोट नगरपालिकाको वडा नम्बर ६ का वडावासी रमेश चुनाराले बताउनु भयो । जनप्रतिनिधीहरु आइसकेपछि छाडा चौपायाको व्यवस्थापन हुने आशामा रहेका नगरवासीहरु निराश बन्दै गएका छन् । तर जनप्रतिनिधीहरुले भने छाडा चौपायाको व्यवस्थानमा आफ्नो उपस्थिति नै देखाउन नसकेको धेरैको गुनासो छ ।

Share.

About Author

Leave A Reply