कृष्णपुर नगरपालिकामा आगामी आर्थिक वर्षका लागि ७७ करोड भन्दा बढीको बजेट नीति तथा कार्यक्रम सहित पारित

0

महेन्द्रनगर, असार २८
ढिलै गरी भए पनि कंचनपुरको कृष्णपुर नगरपालिकामा आगामी आर्थिक वर्षका लागि ७७ करोड भन्दा बढीको बजेट नीति तथा कार्यक्रम सहित पारित गरिएको छ । नगरपालिकाको पाँचौ नगर सभाबाट आव २०७६,७७ का लागि ७७ करोड ८७ लाख ९७ हजार रुपैँयाको बजेट पारित गरिएको हो । गत वर्ष नगरपालिकाकामा ५८ करोड ८० लाख रुपैँयाको बजेट विनियोजन गरिएको थियो । आगामी वर्षका लागि पारित गरिएको बजेट चालु वर्षको भन्दा १९ करोड ७ लाख बढी हो । बजेटमा चालु तर्फ ४२ करोड ३५ लाख र पूँजीगत तर्फ ३५ करोड ५२ लाख विनियोजन गरिएको छ । आन्तरिक स्रोतबाट १५ करोड ६४ लाख आम्दानी हुने लक्ष्य राखिएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले नगरवासिको चाहना र मागका आधारमा समृद्ध नगर बनाउने लक्ष्य सहित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताउनु भयो । ‘समृद्ध कृष्णपुरको आधार, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पूर्वाधार भन्ने मूल नाराका साथ सबै क्षेत्रको समानुपातिक विकासका लागि नीति तथा कार्यक्रममा समावेश गरिएकोले त्यसैका आधारमा बजेट विनियोजन गरिएको उहाको भनाइ छ ।’ कृष्णपुर नगरपालिकाको विकासका लागि दीर्घकालिन रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । विकासका योजनाहरु निजी, साझेदारी, सहकारी र गैर सरकारी संस्था र नागरिक समाजसित सहकार्य गरि सम्पन्न गर्ने नीति लिएको नगरपालिकाले जन सहभागिता अभिवृद्धि, स्थानीय स्रोत साधनको प्रयोग, पारदर्शिता र सार्वजनिक सुनुवाई सामाजिक परीक्षण कार्यलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगरपालिकाको आन्तरिक राजश्व बढाउन आगमी वर्षदेखि कर प्रणालीलाई व्यवस्थित गरि लागू गर्दै कर संकलन अभियान सञ्चालन गर्ने भएको छ । करका दायरा फराकिलो र करका नयाँ क्षेत्र पहिचान गरी आन्तरिक राजश्व वृद्धि गर्ने नीति लिइएको छ । नगरलाई व्यवस्थित गरी नमूना नगरपालिका बनाउने कार्य सुरु गर्ने र नगरपालिकालाई क्लिन ग्रिन सिटीका रुपमा विकास गर्न नीति र अभियान सञ्चालनलाई प्राथमिकता दिइएको छ ।

Share.

About Author

Leave A Reply