कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा दुई कृत्रिमताल निर्माण

0

महेन्द्रनगर, श्रावण ५
संरक्षित जनावरलाई पानीको व्यवस्था गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा दुई कृत्रिमताल निर्माण गरिएका छन् । संरक्षित जनावरलाई पानी खुवाउन सहजता प्रदान गर्न सामुदायिक वनको भित्री र बाह्य क्षेत्रमा गरी दुई ताल निर्माण गरिएका हुन् । दुईवटै पोखरी निर्माण गर्नका लागि सामुदायिक वन र लालझाडी मोहना संरक्षण कार्यक्रम अन्तर्गत आठ लाख ५० हजार रुपैया लगानी गरिएको छ । ताल निर्माणका लागि सामुदायिक वनका उपभोक्ताले तीन लाख रुपैया बराबरको श्रमदान गरेका छन् । वनको भित्री भागमा पाच लाख रुपैयँ खर्चेर सामुदायिक वनले आफ्नै लगानीमा ताल निर्माण गरेको सामुदायिक वनका कोषाध्यक्ष बाबुराम चौधरीले बताउनु भयो । उहाका अनुसार अर्को ताल तीन लाख ५० हजार रुपैयाको लागतमा लालझाडी मोहना संरक्षण कार्यक्रम अन्तर्गत निर्माण गरिएको हो । सामुदायिक वन क्षेत्रमा पानीको व्यवस्था भएपछि पहिले देखिन छाडेका जनावर देखिन थालेका छन् । सामुदायिक वनमा चितल, बँदेल, नीलगाई, मयुर र चितुवा सहजै देखिने गरेको सामुदायिक वनका अध्यक्ष जोगराम चौधरीले बताउनु भयो । जनावर देखिन थालेपछि अवलोकन गर्नका लागि सामुदायिक वनमा दुई मचान समेत निर्माण गरिएका छन् । ४१ फिट उचाइ र २४ फिट उचाइका गरी तीनतले र एकतले मचान समेत निर्माण गरिएको छ । मचान निर्माण गरिएपछि सामुदायिक वनमा रहेका जनावर र सामुदायिक वनको मनोरम दृश्य नियाल्न सकिने भएको छ । सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने सामुदायिक वनका अध्यक्ष चौधरीले बताउनु भयो । वैज्ञानिक वन व्यवस्था लागू भएको सामुदायिक वनको वार्षिक आम्दानी एक करोड ५० लाख रुपैया भन्दा बढी रहेको छ । आम्दानीको २५ प्रतिशत वन विकास, ३५ प्रतिशत विपन्न वर्गको जीवनस्तर उकास्ने कार्यमा र ४० प्रतिशत रकम कार्यालय सञ्चालनमा खर्च हुने गरेको छ ।

Share.

About Author

Leave A Reply