कैलालीको धनगढी उपमहानगरपालिका गौशाला उद्घाटन

0

महेन्द्रनगर, असोज १८
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा निर्माण गरिएको गौशाला उद्घाटन गरिएको छ । धनगढीमा छाडा पशुचौपाय समस्या यूनीकरण गर्ने प्रयास स्वरुप निजी क्षेत्रबाट निर्माण थालिएको गौशाला शनिवार फूलपातीको अवसरमा उद्घाटन गरिएको हो । २०७५ बैशाख १ गते दखी निर्माण थालिएको गौशालामा १ सय ८ गाई अटाउने क्षेमता रहेको समितिका सचिव सिताराम अवस्थीले बताउनुभयो । हालसम्म १ करोड ५० लाख रुपैया खर्च लागेको बताउँदै सचिव अवस्थीले अझै धेरै काम गर्न भने बाँकी रहेको बताउनु भयो । हाल एउटा मात्रै गौशाला घर निर्माण गरी एक सय ८ गाईको पालन पोषण गर्ने गरी ४ जना गाई हेरालुको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनु भयो । भविश्यमा भने थप दुई वटा गौशाला घर निर्माण गरी ३ सय २४ गाईको व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनु भयो । उहाँले धनगढीमा बढ्दो छाडा पशुचौपायाको समस्या समाधानका लागि गौशाला निर्माण गरिएको बताउनु भएको छ । गौशाला निर्माणका लागि सहयोगबाट रु.२५ लाख संकलन भएको अध्यक्ष भोजराज पाठकले जानकारी दिनुभयो । सुरुमा समितिकै पदाधिकारी बाट रु. १ हजार १ सय संकलन गरी थालिएको अभियानमा ३ सय ६० जना आजिवन सदस्य थपिएका उहाँको भनाई छ । यसैगरी ३३ जनाले ५१–५१ हजार आर्थिक सहयोग गर्नुका साथै ५३ जनाले ११ हजार नगद सहयोग गरेको अध्यक्ष पाठकले बताउनु भयो । गौशाला निर्माणमा प्रदेश सांसद विकाष कोष मार्फत प्रदेशसभा सदस्य डिल्लीराज पन्तले ८ लाख, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत ५ लाख र धनगढी उप–महानगरपालिकाको तर्फ बाट ५ लाख आर्थिक सहयोग भएको उहाँले जानकारी दिनुभयो । गौशालालाई व्यवस्थित गर्न र दिगो बनाउन गाईको दुध, मुत्र र गोबरको व्यापार गरिने जनाइएको छ । यसका साथै गोबरबाट धुप उत्पादनका लागि पनि विभिन्न निकायसँग प्राबिधिक सल्लाह भइरहेको अध्यक्ष पाठकले बताउनुभयो । गौशाला उद्घाटन गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बलबहादुर ऐरले गौशालाको संरक्षण गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Share.

About Author

Leave A Reply