कैलाली तथा कञ्चनपुरमा अनियमित तरीकाले विद्युत कटौती हुदा सर्वसाधारणहरु समस्यामा

0

महेन्द्रनगर, श्रावण ५
कैलाली तथा कञ्चनपुरमा अनियमित तरीकाले विद्युत कटौती हुदा सर्वसाधारणहरु समस्यामा परेका छन् । गत बुधबार देखि कैलालीको धनगढीमा भएको अनियमित विद्युत कटौतीले सर्वसाधारणलाई सास्ती भएको छ । चर्को गर्मीका बेला दिउसो र रातिको समय समयमा बिद्युत कटौती हुदा सबै हैरान बनेका छन् । केहि दिन पहिलेसम्म नियमित बिद्युत आइरहने भएपनि केहि दिनयता विभिन्न कारण देखाउदै प्राधिकरणले बिद्युत कटौती गरिरहेको सर्वसाधारणले बताएका छन् । राति ३÷४ पटक बिद्युत कटौती भएर निदाउन नपाएको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का भरत हितालले गुनसो गर्नुभयो । उहाले चर्को गर्मी अझ त्यो माथि बिद्युत कटौती भैदिदा सास फेर्न पनि गाह्रो भएको बताउनु भयो । सानो हावाहुरी चल्दा बिद्युत कटौतीगर्ने प्राधिकरणले केहि दिनयता विना कारण सर्वसाधारणलाई दुःखदिइरहेको उहाको भनाई छ । सर्वसाधारणलाई मात्रै होइन्, केहि दिनयता भैरहेको बिद्युत कटौतीले ब्यापारीहरुलाई झनै समस्या भएको छ । चर्को गर्मी त्यो माथि बिद्युत नहुदा पसलमा बस्नै नसकिने अवस्था रहेको दिप इलेक्ट्रोनिक धनगढीका सञ्चालक हिक्मत मल्लले बताउनु भयो । उहाले चर्को गर्मीमा बिद्युत कटौतीका कारण चिसो पानी खान सम्म नपाएको गुनासो गर्नुभयो । उद्योग बाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले अघोषित रुपमा भैरहेको बिद्युत कटौतीले उद्योगी ब्यवसायिहरुलाई धरापमा पारेको बताउनु भयो । तर, यता बिद्युत प्राधिकरण धनगढी शाखाका प्रमुख धिरेन्द्र यादवले भने बिहिबार र शुक्रबार बिद्युत दिनमा ५÷६ पटक गएको भएपनि त्यसयता नगएको दाबि गर्नु भएको छ । उहाले २ दिनको बिद्युत कटौतीमा पनि र्कचारीको कुनै गल्ति नभएको बताउनुभयो । बिहिबार र शुक्रबार अत्तरीया देखि धनगढी आउने बिद्युतको लाइनमा तार छुटेकोले समस्या भएको उहाले बताउनु भयो । तर, अहिले सिस्टम परिवर्तन गर्दा २÷३ पटक मात्र जाने गरेको उहाको भनाई छ । यस्तै अवस्था कञ्चनपुरमा पनि रहेको छ । कहिले केही बहानामा त कहिले केही बहानामा विद्युत कटौती हुदा कञ्चनपुरमा रहेका उद्योगी व्यवसायीका साथसाथै सर्वसाधारणहरु मारमा परेका छन् । दिउसो र रातिको समयमा विद्युत आपुर्ति बारम्बार कटौती हुने भएकाले समस्या भएको कञ्चनपुरको महेन्द्रनगरका सर्वसाधारणहरुले गुनासो गरेका छन् ।

Share.

About Author

Leave A Reply