क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई

0

मशेन्द्रनगर, कार्तिक १३
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । ज्ञानेन्द्रले खेलका आगामी सिजनदेखि कप्तानको जिम्मेवारी सम्हाल्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन् ।

यसअघि उनी टिमका उपकप्तान थिए । दश वर्षदेखि टोलीको कप्तानी गर्दै आएका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई क्यानले नयाँ कप्तान नियुक्त गरेको हो ।

गत असोज २७ गते आइसिसीले क्यानलाई ससर्त निलम्बन फुकुवाको निर्णय गरेलगत्तै पारसले कप्तानी छाड्ने घोषणा गरेका थिए । नेपालले निकट भविष्यमा खेल्ने प्रतियोगिता मंसिर १५ देखि नेपालमा हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) हो । सो प्रतियोगितामा अब ज्ञानेन्द्रले कप्तानी गर्नेछन् ।

ज्ञानेन्द्र अनुभवी खेलाडी हुन् भने पारसको अनुपस्थितिमा उनले राष्ट्रिय टिमको कप्तानी गरिसकेका छन् । पछिल्लो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा ज्ञानेन्द्रले आफ्नो टिम ललितपुर प्याट्रिओट्सलाई च्याम्पियन बनाएका थिए ।

Share.

About Author

Leave A Reply