नेपाल, भारत र बाङ्ग्लादेशबीच निर्बाध यातायातको योजना अलपत्र

0
नेपाल, भारत, बांग्लादेश

नेपाल, भारत र बाङ्ग्लादेशबीच निर्बाध सवारीसाधन सञ्चालनका लागि ढोका खोल्न मोटर भेइकल एग्रिमेन्टमा तीन देशबीच सहमति भएको चार वर्ष बित्दा समेत ठोस प्रगति हुन नसकेको जानकारहरूले बताएका छन्।

नेपालसहित भारत र बाङ्ग्लादेशले सम्झौताका मस्यौदामा सहमति जनाउँदै आ-आफ्ना मुलुकका मन्त्रिपरिषद्‍बाट स्वीकृति लिने र त्यसका आधारमा सम्झौतामा हस्ताक्षर गरेर अघि बढ्ने योजना थियो।

तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेको सम्झौताको मस्यौदा अनुमोदन नगरी थप तयारी र स्पष्टता आवश्यकता रहेको भन्दै मन्त्रिपरिषद्ले फिर्ता गरिदिएको छ।

भारतले दक्षिण एशियाली सहयोग सङ्गठन सार्कमार्फत उक्त सम्झौता अघि बढाउन चाहेका भए पनि पाकिस्तानको अनिच्छाका कारण उसले भूटानसहित चार राष्ट्रमा सीमित गर्ने गरी सम्झौता अघि बढाएको थियो।

भुटान पनि उक्त सम्झौताबाट बाहिरिएको थियो।

मोटर भेइकल एग्रिमेन्टलाई सन् २०१४ मा काठमाण्डूको सार्क बैठकमा अजेन्डाका रूपमा राखिएको थियो।

मन्त्रिपरिषद्‍ले फिर्ता गर्नुका कारण

पारवहन

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाका सह-सचिव गोपालप्रसाद सिग्देलका अनुसार भुटान सम्झौताबाट बाहिरिए पछि नेपालले पनि त्यस विषयमा थप छलफल गर्न जरुरी रहेको भन्दै मन्त्रिपरिषद्‍बाट सहमतिको मस्यौदा फिर्ता पठाइएको हो।

सिग्देलले भने: “सम्झौता गरेका चारै देशले कार्यान्वयनमा लाने गरी अघि बढेको भए त्यो सम्झौता नै कायम हुने थियो।”

“तर भुटान पछि हटेका अवस्थामा उक्त सम्झौताका आधारमा नयाँ ज्ञापनपत्रमा हस्ताक्षर गरेर अघि बढ्नुपर्ने देखिएको छ।”

त्यस विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा यसै महिना भारतको राजधानी दिल्लीमा हुने बैठकमा छलफल हुने सिग्देलले बताए।

तयारी

सरकारी अधिकारीहरूले थप छलफल गर्नु पर्ने हुँदा समय लागेको भने पनि यसअघि नै सबै किसिमका तयारी पूरा गरेर बाङ्ग्लादेशबाट भारत हुँदै नेपालसम्म तीनै देशका अधिकारीहरू सहितको दुई बस नेपालसम्म आइपुगेका थिए।

बाङ्ग्लादेशको राजधानी ढाकाबाट हिँडेका बस भारतको सिलगुढी हुँदै नेपाल पुगेका थिए।

यातायात

अधिकारीहरूका अनुसार ती बसले बाङ्ग्लादेशमा १,१९७ किलोमिटर, भारतमा ५० किलोमिटर र नेपालमा ६९९ किलोमिटर यात्रा तय गरेका थिए।

तत्कालीन अवस्थामा भारत र बाङ्ग्लादेशमा सडकको कुनै पनि किसिमको समस्या नरहेको र नेपालको मुग्लिन-नारायणगढ सडकखण्ड भने साँगुरो रहेको निष्कर्ष निकालेको थियो।

नेपाली भूभागमा पर्ने उक्त सडकको स्तरोन्नति भइसकेको छ।

सहमति

चार देशबीच भएको सहमतिका अनुसार सुरुमा यात्रुहरू ‌ओसारपसार गर्ने र पछि मालवाहक सवारीसाधन सञ्चालन हुने बताइएको थियो।

सहमतिको मस्यौदामा अन्तर्राष्ट्रिय अध्यागमन र भन्सार पार गर्नका लागी आवश्यक पर्ने विधि समेत समावेश गरिएको थियो।

चार वर्ष सम्म अपेक्षा अनुसार प्रगति हुन नसकेपछि भारतको वाणिज्य मन्त्रालयले आफ्नो विदेश मन्त्रालय मार्फत नेपाल र बाङ्ग्लादेशसँग उक्त विषयमा छलफल तीव्र बनाउन अनुरोध गरेको भारतीय सञ्चारमाध्यम द हिन्दुले उल्लेख गरिएको छ।

द हिन्दुले यसै महिना हुने बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिनाको भारत भ्रमणका बेला दुई देशका सरकार प्रमुखबीच उक्त सम्झौताबारे छलफल हुने सङ्केत गरेको छ।

Share.

About Author

Leave A Reply