पारस खड्काको शतकसँगै नेपालले सिङ्गापुरसँग लियो हारको बदला

0
क्रिकेट

कप्तान पारस खड्काले टी-२० क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गरेपछि सिङ्गापुरविरुद्धको शनिवारको खेलमा नेपाल नौ विकेटले विजयी भएको छ।

बीस ओभरको खेलमा नेपाली खेलाडीले प्रहार गरेको यो पहिलो शतक हो।

यस निम्ति कप्तान खड्काले इन्डियन एसोसिएशनको मैदानमा ७ चौका र ९ वटा छक्का प्रहार गरे। उनले ५२ बलको सामन गर्दै अविजित १०६ रन जोडेका हुन्।

खड्काको कीर्तिमान त्यतिमा सीमित रहेन। उनले दोस्रो विकेटका लागि आरिफ शेखसँग मिलेर टी २० को नेपालको अहिलेसम्मको ठूलो साझेदारी समेत गरे।

कीर्तिमान

यी दुईले १ सय ४५ रनको विशाल साझेदारी गरी कीर्तिमान रचेका हुन्। कप्तान खड्काको भने यो व्यक्तिगत पाँचौँ अन्तर्राष्ट्रिय शतक हो।

यसअघि उनले एकदिवसीय क्रिकेटमा चार शतक बनाइसकेका छन्। जुन नेपालको तर्फबाट सबैभन्दा बढी शतक बनाउने एकमात्र पात्र हुन्।पछिल्लो शतक उनले युएईविरुद्ध उनकै मैदानमा गरेका थिए, जुन एकदिवसीय राष्ट्रका रूपमा उनको पहिलो कीर्तिमानी शतक थियो।

पारस

त्यसअघि खड्काले सन् २०१८ मा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा युएईविरुद्ध नै प्रहार गरेका थिए।

त्यस्तै विश्व क्रिकेट लीग च्याम्पियनशीपमा उनले सन् २०१६ मा नामिबियाविरुद्धको करिअरको दोस्रो शतक प्रहार गरेका थिए।

खड्काको करिअरको पहिलो शतक भने सन् २०१२ मा कुवेतविरुद्ध प्रहार गरेका थिए। त्यो एसीसी एलिट कप क्रिकेट प्रतियोगिता थियो।

सिङ्गापुरसँग बदला

पहिलो ब्याटिङ गरेको सिङ्गापुरले १५२ रनको मध्यम स्कोर खडा गरेको थियो। जसलाई नेपालले १६ ओभरमै पूरा गर्‍यो।

एक महिनाअघि यसै मैदानमा भएको विश्वकप टी २० छनोटमा नेपाल सिङ्गापुरसँगै पराजित हुँदा विश्वकप छनोटको मुख्य राउन्डमा पुग्नबाट वञ्चित भएको थियो।

त्यो बेला नेपाल ८२ रनले पराजित भएको थियो। उक्त पराजयलाई नेपाली समर्थकहरूले अहिलेसम्म भुल्न सकेका छैनन्।

तर यसपालि नेपालले सिङ्गापुरलाई खेलमा कुनै पनि बेला हावी हुन दिएन।

पारस खड्कासँग कुराकानी

नेपालको एकमात्र विकेट इशान्त शर्माको पतन भएको थियो। उनले ९ रन बनाए। त्यसपछि आरिफले कप्तान खड्कालाई राम्रो साथ दिए। उनी ३८ बलमा ५ चौकाको मदतले ३९ रनमा अविजित रहे।

बलिङतर्फ टी २० मा डेब्यु गरेका सुशन भारीले १ विकेट लिए। करण केसीले २ विकेट लिए।

जिम्बाब्वे सम्मिलित त्रिकोणात्मक शृङ्खलामा नेपालको यो पहिलो जित पनि हो। अघिल्लो दिन नेपाल जिम्बाब्वेसँग ५ विकेटले हारेको थियो।

शृङ्खला अन्तर्गत नेपालले मङ्गलवार पुन: जिम्बाब्वेसँग र बुधवार सिङ्गापुरसँग खेल्नेछ।

Share.

About Author

Leave A Reply