प्रधानमन्त्रीमा देखियो अधिनायकवादको रुझान

0

प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरेर १४ वर्ष जेल बसेका नेता हुन् । तर, उनमा यतिबेला अधिनायवादी रुझान देखिन थालेको छ । फलस्वरुप प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक मूल्य मान्यताभन्दा अधिनायकवादी तौरतरिकाहरु मन पर्न थालेको छ ।

प्रधानमन्त्री ओलीभित्र देखा पर्न थालेको अधिनायकवादी रुझानलाई पहिचान गर्नका लागि तलका ४ वटा लक्षणहरु हेरौं–

१. ‘मेरो सरकार’

राष्ट्रपतिमार्फत शुक्रबार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ पदावलीको प्रयोग सत्तारुढ कम्युनिष्ट पार्टीको सहमतिमा नभई प्रधानमन्त्रीको एकल निर्णयमा भएको हो । प्रचण्डलाई समेत झुक्याएर झेलपूर्वक ‘मेरो सरकार’ थपिएको प्रचण्डकै भनाइले पुष्टि गरिसकेको छ ।

‘मेरो सरकार’ भन्नु अन्तर्राष्ट्रिय प्रचलन भएको भन्दै प्रधानमन्त्री ओलीले मिडिया र बुद्धिजीवीलाई सम्झाउने प्रयास गरेका छन् । ‘मेरो सरकार’ भन्नु जायजमात्रै होइन, अपरिहार्य नै छ जस्तो तर्क गरेर प्रधानमन्त्री ओलीले आफ्नो उर्जा खर्च गरिरहेका छन् ।

तर, प्रधानमन्त्री ओलीले ‘मेरो सरकार’ प्रकरणको बचाऊका लागि भारतको निकै लामो फेरो समाते पनि नेपालको सन्दर्भमा यसका पछाडि केही मौलिक प्रश्नहरु जरुर छन् ।

पहिलो कुरा त प्रचण्डलाईसमेत झुक्याएर ‘मेरो सरकार’ किन घुसाइयो ? अपरिहार्य ठानिएको यही काम अँध्यारो कोठामा कीर्ते शैलीबाट किन गरियो ? यो प्राविधिक प्रश्न मात्रै हो या विधि र प्रक्रियाको पनि प्रश्न हो ?

दोस्रो, भारत वा सिंगै संसारले जेसुकै भने पनि नेपालको सन्दर्भमा ‘मेरो सरकार’ ले विशिष्ट अर्थ दिन्छ । यसले राजतन्त्रकै झल्को दिन्छ । राष्ट्रपतिले मेरो सरकार भन्नुको साटो ‘हाम्रो सरकार’ या ‘नेपाल सरकार’ भन्दाखेरि सुन्दर महसुस हुन्छ र यसले नेपालको लोकतन्त्रको सुन्दरता झल्किन्छ ।

शब्दको आञ्चलिकता र भौगोलिक पहिचान हुन्छ भन्ने अर्को दृष्टान्त हेरौं । जस्तो– भारतले जे भन्छ, त्यही गर्ने हो भने त भारतले स्थानीय तहहरुलाई ग्राम पञ्चायत, नगर पञ्चायत इत्यादि भन्ने गरेको छ । के उसोभए हामीले ‘अन्तरराष्ट्रिय प्रचलन’ भन्दै गाउँपालिकालाई ‘गाउँ पञ्चायत’ भन्न सक्छौं ? सक्दैनौं । किनभने हाम्रो सन्दर्भमा ‘पञ्चायत’ शब्द अधिनायकवादको निशानी हो । निरंकुशताको पहिचान हो ।

त्यसैले कतिपय शब्द र पदावलीहरुले आ–आफ्नो परिवेशमा मौलिक इतिहास र अर्थ बोकेका हुन्छन् । ‘मेरो सरकार’ को सन्दर्भमा पनि यहीकुरा सत्य हो । तर, १४ वर्ष जेल बसेको एउटा लोकतान्त्रिक नेतालाई शाही शब्दावलीप्रति यति गहिरो प्रेम किन ? किनभने, यो केपी ओलीमा देखिएको अधिनायकवादी रुझानको एउटा लक्षण हो ।

२. अग्लो ठाउँमा बस्ने रुचि

प्रधानमन्त्री ओलीमा यतिबेला अलि अग्लो आशनमा बस्ने रुची जागेको छ ।

शनिबार ‘मेरो सरकार’ बारे बताउँदै गर्दा प्रधानमन्त्री ओलीले यतिसम्म भने कि बेलायती संसदलाई सम्वोधन गर्ने बेलामा सभामुख, संसदका अध्यक्ष र महारानी एउटै लेभलको बराबरी आसनमा बस्दैनन् । तर, नेपालमा चाहिँ राष्ट्रपति र सभामुखलाई बराबर आसनमा राखियो ।

शनिबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीले सम्पादकहरुसँग ‘अन्तरक्रिया कार्यक्रम’ को आयोजना गरेका थिए । तर, उनी सम्पादकहरुसँग एउटै लेबलको राउण्ड टेबलमा बसेनन् । ओली बसेको आसन यति अग्लो थियो कि धेरैबेर उनीसँग आँखा जुधाउन खोज्दा तल बस्नेहरुको घुच्चुकले नथाम्ने स्थिति थियो । र, प्रधानमन्त्री यति पर बसेका थिए कि माइक विना आपसमा कुराकानी गर्न सकिँदैनथ्यो ।

विगतमा प्रधानमन्त्रीहरुले बालुवाटारमा सम्पादक वा अन्य कुनै पनि विधाका विज्ञहरुलाई बोलाउँदा एउटै लेबलका कुर्सीहरु नजिकै राखिएका हुन्थे । एकजनाले बोलेको अर्कोले सहजै सुन्थ्यो । को माथि बसेको छ र को तल बसेको छ भन्ने भेद देखिँदैनथ्यो । र, प्रधानमन्त्रीले पनि सल्लाह सुझावहरु माग्थे, अरुका कुराहरु पनि सुन्थे । यसरी होचोमा बस्दा प्रधानमन्त्रीको कद घट्दैनथ्यो, सबैले उनलाई सरकार प्रमुखका रुपमा सम्मान गरेकैहुन्थे ।

तर, प्रधानमन्त्री ओलीमा भने राजाको जस्तै तौरतरिका महसुस हुन थालेको छ । उनमा राजाजस्तै अग्लो आशनमा, अलि टाढा बस्ने रुची पलाएको छ ।

पत्रकारको हकमा मात्रै होइन, आफ्नै पार्टीका सांसदहरुको हकमा पनि प्रधानमन्त्री ओलीले आफूलाई जनताप्रेमी नेताभन्दा पनि राजा जसरी प्रस्तुत गर्न थालेका छन् । ओलीले व्यासासनमा बसेको पण्डितले जसरी उच्चस्थानबाट प्रवचन दिन्छन् । सांसदहरुले भक्तजनले जसरी तल बसेर चुपचाप सुन्छन् ज्ञानगुनका कुराहरु सुन्छन् ।

यसो हुनुका पछाडि प्रधानमन्त्री ओलीमा देखिएको अधिनायकवादी रुझान नै हो । अधिनायकवादीहरु बहस र छलफल रुचाउँदैनन् । आलोचकहरुलाई गालीगालौच गर्छन् र आफूलाई अरुभन्दा श्रेष्ठ देखिनका लागि बस्ने आसनसमेत अरुभन्दा पर, केही अग्लो ठाउँमा होस् भन्ने चाहन्छन् । बनारसका मठाधीशहरुमा पनि यस्तै प्रचलन छ । र, यो पनि एक प्रकारको ‘अन्तरराष्ट्रिय अभ्यास’ नै हो अधिनायकवादको ।

३. जनता कुवाका भ्यागुता !

तानाशाहरुको अर्को लक्षण के हो भने उनीहरु जनतालाई गाली गर्छन्, मिडियालाई हप्काउँछन् र विपक्षीप्रति असहिष्णु हुन्छन् । अचेल प्रधानमन्त्री ओली जनतालाई समेत हप्काउने तकमा ओर्लिन थालेका छन् । जस्तै सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भनिएकोमा फेसबुक, ट्वीटरजस्ता समाजिक सञ्जालमा आम सर्वसाधारणले प्रश्न उठाएका थिए, तर प्रधानमन्त्रीले त्यसरी प्रश्न उठाउनेहरुलाई ‘कूपमण्डूक’ अर्थात् कुवाका भ्यागुताहरु भन्ने शब्द प्रयोग गरे ।

नीति तथा कार्यक्रममाथि भएको आलोचनाप्रति उनले आक्रोश पोखे । आलोचकहरुलाई प्रश्न उठाइदिनुभएकोमा र छलफलमा भाग लिइदिनु भएकोमा धन्यवाद छ भन्ने लोकतान्त्रिक संस्कार प्रधानमन्त्रीमा छैन भन्ने कुरा उनका अभिव्यक्तिबाट झल्कन थालेको छ ।

लोकतान्त्रिक संस्कार र सोच भएको भएको नेताले आलोचकका कुरा मात्रै सुन्दैन, आलोचकलाई सम्मान पनि गर्छ ।

तर, प्रधानमन्त्री ओली आलोचकहरुलाई कुवाको भ्यागुतो ठान्छन् र आफूलाई तत्वज्ञानी सम्झन्छन् । यो अधिनायकवादी रुझानको लक्षण हो ।

४. हुन सेनको निम्तो !

प्रधानामन्त्री ओली यसैसाता भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदैछन् । वैदेशिक भ्रमणमा मितव्ययिता अपनाउने सरकारले बताइरहेका बेला प्रधानमन्त्री त्यहाँ नगई नहुने के पर्‍यो ? यो प्रश्न ओली सरकारलाई कसैले सोध्ने कुरै भएन ।

नेपालमा आयोजना गरिएको एशिया प्यासिफिक सम्मेलन र होली वाइनको चर्चा सेलाएको छैन । कम्वोडियाका तानाशाही शासकले प्रधानमन्त्री ओलीलाई त्यहीबेला भ्रमणको निम्तो दिएका थिए ।

र, यो भ्रमण ‘होली वाइनकै’ अर्को शिलसिला पनि हो । किनभने होली वाइन काण्ड मच्चाएर सरकारलाई विवादमा चान्ने पूर्वमन्त्री एकनाथ ढकाल अहिले उतै, छेउछाउमा लाओसतिरै छन् ।

अन्तराष्ट्रिय समुदायबाट एक्लिइरहेका तानाशाही शासकको निम्तो मान्ने रुची ओलीमा देखिनु राष्ट्रिय स्वार्थ र हितसँग कति जोडिएको छ ? यसमा बहस जरुरी छ । अन्यथा, यो तानाशाही रुझानको शारीरिक लक्षणजस्तो मात्रै ठहरिन सक्छ ।

देशमा बजेटको मौसम आएको र देश निर्माणको गम्भीर बहस गर्नुपर्ने बेलामा प्राथमिकताविहीन देशको भ्रमणमा निस्कनु अलोकप्रिय कदम हो । तानाशाहहरुयसै गरी घरेलु मुद्दालाई कार्पेटमुनि दपेटेर विदेश शयर गर्छन् र देशको सम्पत्ति उडाउँछन् ।

के यी चारवटा लक्षणले केपी ओलीभित्र अधिनायकवादी रुझानको संकेत गर्दैनन् र ?

अधिनायकवादी रुझानका ३ कारण

आखिर प्रधानमन्त्री ओलीमा अधिनायकवादी रुझानका लक्षणहरु किन देखा परे ? समस्याका कारणहरु के–के हुन् ? यसको पहिचान नगरेसम्म समस्याको समाधान सम्भव छैन । रोगको कारण पत्ता नलगाई उपचार सम्भव हुँदैन ।

प्रधानमन्त्री ओलीमा अधिनायकवादी रुझान देखा पर्नुका केही कारणहरु छन्, जुन कारणलाई बुँदागत रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ–

१. प्रथमत : केपी ओलीमा दुईतिहाई बहुमतको दम्भ छ । दुईतिहाई भएकाले दलभित्र र देशभित्र जे पनि गर्न मिल्छ भन्ने उनलाई लागेको छ । सरकार र पार्टी दुबैतिर बहुमत भएकाले ओलीलाई लोकको पनि डर छैन, कम्युनिष्ट भएकाले परलोकको पनि डर छैन ।

२. केपी ओलीले नेतृत्व गरेको नेकपा ‘मुखले लोकतन्त्र, व्यवहारले सामाजिक फासीवाद’ अवलम्बन गरिरहेको अर्ध–लोकतान्त्रिक दल हो । पूर्वएमाले आफैंमा विपक्षीप्रति हदैसम्मको असहिष्णु चरित्र बोकेको पार्टी थियो, त्यसमा माओवादीको भ्रष्ट उपभोक्तावाद मिसिएपछि अहिले यो पार्टी अलोकतान्त्रिकहरुको कुम्भ मेलाजस्तै बनेको छ ।

कागतीको रुखमा सुन्तला फल्दैन । नेकपाको यस्तो संचनामा ओलीपथको विजारोपण र उदय अपरिहार्य भवितव्य हो ।

३. सत्तारुढ दलमात्र होइन, यतिबेला नेपाली समाज पनि मूल्यमान्यताहरुबाट च्युत हुँदै अनियमितता एवं भ्रष्टतातर्फ अघि बढिरहेको छ । यसको लक्षण तीनै तहका सरकार, कर्मचारीतन्त्र, अदालत वा राज्यका सबैखाले अवयवहरुमा संक्रमित भइसकेको छ ।

विगतमा लामो समय कांग्रेस र कम्युनिष्टहरुको नेतृत्वमा देशैभरि भ्रष्टाचार र अनियमिताको झार रोपिएको थियो । अहिले त्यही बनमाराले देशलाई चौतर्फी रुपमा गाँजेको छ । सिंगै देश विचौलिया र ठगहरुको हातमा परेको छ ।

समाज जस्तो हुन्छ, नेता पनि त्यस्तै पैदा हुन्छन् । समाजको यही वस्तुगत अवस्थाले देशमा लोकतन्त्रका लागि हैन, अधिनायकवादका लागि जमीन तयार भइरहेको छ ।

Share.

About Author

Leave A Reply