बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु

0

महेन्द्रनगर, असोज १८
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । घटस्थापनादेखि नै पूजाआजा शुरु भएपनि जात्रा भने सप्‍तमी र अष्ठमी गरी दुई दिन हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताउनु भयो ।

आज शनिबार राती भगवती मन्दिरमा कालरात्रीको बिशेष पूजाआजा हुने उहाले बताउनु भयो । निङ्गलाशैनी भगवती मन्दिरमा लागेको जात्रामा नेपालका साथै सीमावर्ती भारतबाट समेत दर्शनार्थीहरु पुगेको उहाले जानकारी दिनु भयो ।

मन्दिरमा महाअष्टमीमा रांगा, बोकाको बलिसहित पूजाआजा हुने गरेको छ । बलि गर्ने भाकल गरेकाहरुले आज शनिवार मन्दिरमा रांगा लग्ने चलन रही आएको छ ।

जात्रा शुरु भएसंगै मेलास्थलमा दर्शनार्थी तथा अन्य मानिसहरुको चहलपहल बढेको छ । यस्तै पुरचौंडीमा रहेको डिलाशैनी भगवती मन्दिर, डिलाशैनी गाउँपालिकास्थित कफलाशैनी भगवती मन्दिर, सुर्नया स्थित फाल्ङासैनी भगवती मन्दिरमा पनि सप्‍तमीदेखि जात्रा शुरु भएको छ ।

यस्तै शिवनाथ गाउँपालिका वडा ५ कफाडी स्थित उदयदेव मन्दिरमा पनि महाष्टमी र महानवमीको अवसरमा मेला लाग्ने भएको छ ।

मेलालाई व्यस्थित बनाउन मेला व्यवस्थापन समितिले मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । मेलास्थल र तोकिएका क्षेत्रमा मदिरा सेवन गरी होहल्ला गरेमा जरीवाना समेत गरिने समितिले जनाएको छ ।

Share.

About Author

Leave A Reply