भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाकाविच रोयल्टी संकलनमा असहमति

0

महेन्द्रनगर
कञ्चनपुरका दुई नगरपालिकाहरु भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाकाविच महाकाली नदीबाट उत्खनन भएका नदीजन्य पदार्थको रोयल्टी संकलनमा असहमति देखिएको छ । दुई नगरपालिकाविच रोयल्टी उठाउने सम्बन्धमा सहमति हुन नसक्दा दुई नगरपालिकाका विचमा केही मनमुटावको अवस्था समेत देखिएको केही जनप्रतिनिधीहरुले बताएका छन् । महाकाली नगरपालिकाले महाकाली नदीबाट उत्खनन भएका नदीजन्य पदार्थको रोयल्टी बाफतको रकम संघीय सरकार र प्रदेश सरकारलाई बुझाउनु पर्ने रोयल्टी रकम पश्चात बच्ने बाकी रोयल्टी रकमलाई शत प्रतिशत मानी दुइटै नगरपालिकाले ५०) ५० प्रतिशत रोयल्टी पाउनु पर्ने बताएको छ । महाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीले भीमदत्त नगरपालिका क्षेत्रफलका हिसाबले मात्रै नभएर समृद्धिका हिसाबले पनि धनी भएकाले महाकाली नगरपालिकालाई रोयल्टी रकम बढी दिनु पर्ने बताउनु भयो । साथै उहाले पटक पटक भीमदत्त नगरपालिकासंग सो बारे छलफल गरेको भएपनि भीमदत्त नगरपालिकाका जनप्रतिनिधीहरुले भने चासो नै नदिएको बताउनु भयो । महाकाली नगरपालिकाको आर्थिक अवस्था पनि भीमदत्त नगरपालिकाको भन्दा नाजुक नै रहेकाले बराबरै भएपनि रोयल्टी रकम पाउनु पर्ने महाकाली नगरपालिकाले जनाएको छ । तर यता भीमदत्त नगरपालिकाले भने महाकाली नगरपालिकाको क्षेत्रफल पनि सानो भएको र जनसंख्या पनि कम भएकाले रोयल्टी रकम बराबर हुनै नसक्ने बताएको छ । भीमदत्त नगरपालिकाका सुचना अधिकारी हरीसिह धामीले भीमदत्त नगरपालिकाले छाती चौडा गरेर महाकाली नगरपालिकालाई रोयल्टी बढि दिएमा पछि महाकाली नगरपालिका समृद्धि भएपछि त्यो निर्णय सच्चिन नसक्ने भएकाले कहिलेसम्म महाकाली नगरपालिकालाई रोयल्टी बढि दिने भन्दै प्रश्न गर्नु भयो । साथै सुचना अधिकारी धामीले भीमदत्त नगरपालिकाका सम्पुर्ण नगरवासीहरु समृद्ध नभई सकेकाले नगरवासीको समृद्धिका लागि भएपनि रोयल्टी बढि भीमदत्त नगपालिकाले नै पाउनु पर्ने बताउनु भएको छ । सुचना अधिकारी धामीका अनुसार अन्तिममा महाकाली नगरपालिकालाई करीब ३७ प्रतिशत जति र भीमदत्त नगरपालिकालाई करीब ६३ प्रतिशत रोयल्टी रकम वितरण गर्ने विषयमा अनौपचारीक रुपमा छलफल भएको भएपनि दुइवटै नगरपालिकाका जनप्रतिनिधीहरुविच सहमति नै भने नभएको जानकारी दिनु भयो ।

Share.

About Author

Leave A Reply