मझगाउ विमानस्थल सञ्चालन गर्न कुनै समस्या नहुने

0

महेन्द्रनगर, कार्तिक ३
कञ्चनपुरमा रहेको मझगाउ विमानस्थल सञ्चालन गर्न कुनै समस्या नरहेको प्राविधिकहरुको प्रारम्भिक अध्ययन टोलीले जनाएको छ ।

भौगोलिक र सुरक्षाका हिसाबले समेत विमानस्थल सुरक्षित रहेको बताउँदै प्राविधिक टोलीले विमानस्थल सञ्चालन गर्न कुनै समस्या नहुने जनाएको हो ।

तीन दिनसम्म विमानस्थलको प्रारम्भिक अध्ययन गरेको टोलीले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै ५० सिटका जहाज तत्कालै सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको छ ।

प्राविधिक विषयमा गरिएको अनुसन्धानले विमानस्थल सञ्चालन गर्न कुनै समस्या नदेखिएको टोलीका संयोजक तथा इन्जिनियर गुरुदत्त अधिकारीले बताउनुभयो । ५० सिटका जहाज अवतरणमा कुनै समस्या नरहेको बताउदै उहांले ७२ सिटका जहाजका लागि पनि थोरै प्रयास गरे सञ्चालन गर्न सकिने जानकारी दिनु भयो ।

उहांले नजिक भारतीय सीमा र उत्तर–दक्षिण रनवेका कारण विमानस्थल सञ्चालन गर्न नसकिने भन्ने हल्ला सुनिएको बताउँदै त्यसले खासै प्रभाव नपर्ने बताउनु भयो ।

यस्तै, शुक्लाफांटा राष्ट्रिय निकुञ्ज रहेकाले विमानस्थल सञ्चालनबाट वन्यजन्तुमा पर्नेसक्ने प्रभावका बारेमा समेत टोलीले वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रतिवेदनमा उल्लेख गर्ने जनाएको छ ।

विमानस्थलको सम्भाव्यताको अध्ययनका लागि गएको बिहीबार महेन्द्रगर पुगेको टोलीले चार महिनाभित्र प्रतिवेदन तयार पारी मन्त्रालयमा बुझाउनेछ ।

साथै, प्रतिवेदनमा विमानस्थल सञ्चालन गर्न सकिने देखिएमा पुनः विस्तृत अध्ययन तथा आवश्यक पूर्वाधारबारे अध्ययन गर्न अर्को टोली आउने जनाइएको छ ।

Share.

About Author

Leave A Reply