महाकाली कोरिडर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार

0

महेन्द्रनगर, भाद्र २८
कञ्चनपुरको बह्रमदेवदेखि दार्चुलाको खलंगा सम्मको महाकाली कोरिडर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) तयार भएको छ । सडक विभाग अन्तर्गतको भौतिक सामाजिक तथा वातावरणीय शाखाले परामर्शदाता कम्पनी मार्फत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको हो । डिपीआर सडक निर्माणका क्रममा हुने जंगलको क्षति, खेतीयोग्य जमीनको क्षति, घरपरिवार विस्थापित लगायत वातावरणीय प्रभावका कुराहरू आँकलन गरेको टीम लिडर रेशम बाँनियाले जानकारी दिनु भयो । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार महाकाली कोरीडर निर्माण गर्दा बैतडीमा करिब ६८ हेक्टर खेतीयोग्य जमीन नष्ट हुने भएको छ । कोरिडरले पञ्चेश्वर, शिवनाथ र दोगडाकेदार गाउँपालिका तथा दशरथचन्द नगरपालिकामा प्रभाव पार्ने जनाइएकोे छ । यस्तै ४ ओटै स्थानीय तहमा करीब ३५ हेक्टर जंगल नष्ट हुने बताइएको छ । कोरिडर निर्माणका क्रममा शिवनाथमा २१, दशरथचन्द नगरपालिकामा २७ र दोगडाकेदार गाउँपालिकामा ५७ घरपरिवार विस्थापित हुने देखिएको छ । पञ्चेश्वर गाउँपालिकामा विस्थापित हुने परिवार संख्या संकलनको काम भइरहेको छ । कोरिडरले विस्थापित हुने घरपरिवारलाई क्षतिपूर्ति बापत १८ हजारदेखि ४० लाखसम्म मुआब्जा दिन सकिने जनाइएको छ । एघार मिटर अर्थात दुई लेन चौडाइ रहने सडक निर्माणको क्रममा झण्डै ५ हजार ठूला रुखहरू र ७ हजार बुट्यान कटान गर्नुपर्ने देखिएको छ । कोरिडर अन्तर्गत बैतडीमा ११४ किलोमिटर सडक निर्माण हुनेछ । कञ्चनपुरमा ११, डडेल्धुरामा ५९ र दार्चुलामा ४० किलोमिटर सडक निर्माण हुने बताइएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएसंगै कोरिडर निर्माण कार्यले तीव्रता पाउने जनाइएको छ । महाकाली करिडर अन्तर्गत कञ्चनपुरको ब्रह्मदेव–झुलाघाट(दार्चुलासम्मको दूरी २ सय ९१ किलोमिटर छ ।

Share.

About Author

Leave A Reply