वातावरणीय प्रभाव मूल्यांकनको अन्तिम प्रतिवेदन नै नआई सडक निर्माण योजना अघि बढाइयो

0

महेन्द्रनगर, श्रावण ५
महाकाली करिडोर अन्तर्गतको कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्मको खण्डमा वातावरणीय प्रभाव मूल्यांकनको अन्तिम प्रतिवेदन नै नआई सडक निर्माण योजना अघि बढाइएको छ । २ सय ९१ किलोमिटर सडक खण्डको दार्चुला, बैतडी र डडेलधुराका विभिन्न ठाउहरूमा निर्माणको काम भइरहेको छ । टुक्रा टुक्रामा ठेक्का लगाएर काम हुँदै आएको करिडोरका धेरै ठाउँ कामको गति सुस्त छ । करिडोर अन्तर्गतका वनजंगल र बस्ती नभएका ठाउमा ठेक्का भएर निर्माण चलिरहेको दार्चुला–तिंकर सडक योजना कार्यालयले जनाएको छ । करिडोरको अलग्गै कार्यालय नभएकाले तिंकर सडक योजनाले नै काम हेर्दै आएको छ । करिडोर अन्तर्गत दार्चुलाको मालिकार्जुन गाउपालिकाको जौलजिवी, लेकम गाउपालिकाको सर्मोली सल्सेना, बैतडीको सिल्लेक, गाजरी, बठ्ठा र डडेलधुराको जोगबुढा क्षेत्रमा सडक निर्माणको काम चालु रहेको इन्जिनियर दिनेश रैखोलाले बताउनु भयो । जौलजिवी क्षेत्रमा निर्माणाधीन करिडोरका कारण बस्ती जोखिममा परेको स्थानीयले बताएका छन् । यसअघि पनि भर्तोला–जौलजिवी सडकले जोखिममा रहेको जौलजिवी बस्ती करिडोर अन्तर्गतको सडकलाई चौडा बनाउँदा सडकको माटो तल फालेको छ । भारी वर्षाका बेला ती ढुंगामाटो बस्तीका घरहरूमा पुग्छ । त्यस्तै सर्मोली– सल्सेना खण्डमा सडक निर्माणपछि पहिरोको जोखिम बढेको छ । बस्ती र खेत भएको ठाउँमा पनि सडक निर्माणको काम भइरहेको छ । तिंकर सडक योजना कार्यालयले भने सामान्य विवादबाहेक अन्य ठाउँमा निर्माणको काम चलिरहेको जनाएको छ । कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा भने सडक निर्माणको ठेक्का नै हुन सकेको छैन । ठेक्का भएर काम सुरु गरिएको डडेलधुराको जोगबुढा क्षेत्रमा पनि बीचमा जंगल परेपछि यसअघि सडक निर्माण कार्य रोकिएको थियो ।

Share.

About Author

Leave A Reply