सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरे

0

महेन्द्रनगर, असार ३
कैलालीको टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु.२० करोडको लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् । रमण केएस जेभीले दुई वर्र्षिभत्र निर्माण सम्पन्न गर्ने गरी दुई दशमलव तीन किलोमिटर सडकको काम थालेको छ । निर्माण पक्षले सडकमा माटो पटानीको काम थालेको छ । उसले बलौटे माटो प्रयोग गरेका कारण सडकको गुणस्तरप्रति स्थानीयवासीले शङ्का व्यक्त गरेका हुन् । सडक निर्माणका क्रममा प्रयोग गर्ने माटोको ल्याब परीक्षण गर्नुपर्नेमा निर्माण पक्षले त्यसो नगरेको पाइएको छ । माटोको ल्याब परीक्षण नगरेरै निर्माण पक्षले सडकको अधिकांश भागमा माटो पटानी गरेको छ । स्थानीय बासिन्दा शिवदत्त उप्रेतीले सडकमा बिछ्याएको माटो बलौटे भएको बताउनु भयो । बलौटे माटो प्रयोग गर्दा सडक गुणस्तरीय हुनेमा शङ्का उब्जिएको उहाले बताउनु भयो । सङ्घीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इञ्जिनीयर त्रिलोक जोशीले सडकमा प्रयोग भएको माटोको ल्याब परीक्षण नभएको बताउनु भयो ।

उहाले निर्माण पक्षले अनिवार्य दुईपटक माटोको ल्याब परीक्षण गर्नुपर्ने प्रावधान रहेको जानकारी दिनु भयो । प्रावधान अनुसार सडक निर्माणमा प्रयोग गर्नुभन्दा पहिले र निर्माण गरिसकेपछि स्थलगत रूपमा माटोको परीक्षण गरिन्छ । माटोको ल्याब परीक्षण गरेर उपयुक्त भए मात्रै सडक निर्माणमा प्रयोग गर्न पाइने भएपनि अहिलेसम्म माटोको ल्याब परीक्षण नभएको र आफुहरु त्यसैको पर्खाइमा रहेको उहाले बताउनु भयो । माटोको ल्याब परीक्षण गर्दा अनुपयुक्त भए ठेकेदारले सडकमा बिछ्याएको सबै माटो उठाउनुपर्ने उहाले बताउनु भयो । उहाले सडकमा बलौटे माटो प्रयोग भएको बारेमा जनगुनासो आएको बताउनु भयो । प्राविधिकका अनुसार निर्माण पक्षले सडक निर्माणका क्रममा बिछ्याएको माटो रोलिङ गर्नुपर्ने हो । २० देखि २५ सेन्टिमिटर माटो बिछ्याएपछि अनिवार्य रोलिङ गर्नुपर्ने प्रावधान छ । तर, निर्माण पक्षले करीब दुई फिट माटो बिछ्याउदासम्म पनि रोलिङ गरेको छैन । स्थानीयवासीले सडक निर्माणको काम लापरवाही ढङ्गले शुरु भएको आरोप लगाएका छन् । जसका कारण उनीहरु सडक निर्माणको काम गुणस्तरीय हुनेमा शङ्का गर्न थालेका छन् । निर्माण पक्षले आयोजनाका बारेमा विवरण सहितको सार्वजनिक सूचना समेत जारी गरेको छैन । कुनै पनि आयोजनाको आवश्यक जानकारी सहितको सूचना सार्वजनिकस्थलमा टँस गर्नुपर्ने प्रावधान छ । स्थानीयवासीका अनुसार कुनै पनि स्थानमा त्यस्तो सार्वजनिक सूचना देखिएको छैन । स्थानीयवासी टेकनारायण पौडेलले निर्माणसम्बन्धी कुनै सार्वजनिक जानकारी नदिइएको बताउनु भयो । सडक निर्माणको प्रभावकारी अनुगमन समेत हुन नसकेको स्थानीयवासीको आरोप छ । कुनै पनि पक्षले सडक निर्माणको काममा ध्यान नदिएको उनीहरूले बताएका छन् । तर, सङ्घीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इञ्जिनीयर जोशीले भने प्राविधिक टोली सडक निर्माणस्थलमा खटिएको जानकारी दिनु भयो ।

Share.

About Author

Leave A Reply