सडक खन्दै स्काभेटर

0
डोजरले जताततै तहसनहस

देशमा संघीय संरचना र तीन तहको सरकार बनेसँगै सिंहदरबारको सेरोफेरोमा केन्द्रित शासन अधिकार गाउँ पुग्यो भनियो। त्यही मेसोमा स्थानीय तहले जनताको चाहना र मापदण्डविपरीत जताततै डोजर चलाउँदा सुदूरपश्चिमका पहाडमा सिंह गाउँ पसेजस्तै आतंक फैलिएको स्थानीयले अनुभूत गरिरहेका छन्। सम्भाव्यता अध्ययन, बिनाइस्टिमेट र मापदण्डविपरीत जता मन लाग्यो त्यतै डोजरले पहाड चिथोर्दा कैयौं बस्ती पहिरोमा पुरिएका छन्। कैयौं विस्थापित भएका छन्। कैयौंको अकालमै मृत्यु भएको छ। वर्षात्मा पहिरो गएर राजमार्गमा क्षति पुगेको छ। पानीको मुहान सुक्दै गएका छन्।

स्थानीय तहका जनप्रतिनिधिले आफैं डोजर किनेर विकासका नाममा आतंक मच्चाएको स्थानीयको गुनासो छ। ‘सिंहदरबार गाउँ आउँछ भन्थे, यहाँ त नरभक्षी सिंह गाउँ पसेजस्तै डोजर आतंक फैलिएको छ,’ डोजरले फालेर घाइते बनाएकी बैतडीका गौरी जोशीले भनिन्। लाखौं खर्च गरेर खनिएका धेरै सडक पहिरोले भत्किएका छन्।

कात्तिक ४ गते सोमबार दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक खन्न गएको डोजरले स्थानीय गौरा जोशीलाई घाइते बनाएको थियो। ग्रामीण सडक खन्ने क्रममा दुई पक्षबीच विवाद हुँदा डोजरले उनलाई हुत्यायो। गम्भीर घाइते भएकी उनको भारतमा उपचार भइरहेको छ।

स्थानीय सरकारको रूपमा अधिकार सम्पन्न बनेपछि बैतडी, बझाङलगायत पहाडी जिल्लामा सबै स्थानीय तहले डोजर किनेका छन्। जनप्रतिनिधिले समेत आफन्तका नाममा स्काभेटर र डोजर किन्ने होडबाजी चलेको छ। डोजरले खनेको सडकमा गएको पहिरोले पहाडी जिल्लामा कैयांैको जीवन तथा घरबार उजाडेको छ।

पानीको मुहान सुक्दै
पहाडमा अन्धाधुन्ध डोजर चलाउँदा खानेपानीका मुहान सुक्न थालेका छन्। ‘डोजर आतंक नै भयो, पहिरोले कैयौं बस्ती जोखिममा त छन् नै खानेपानीका मुहान पनि सुक्न थालेका छन्,’ बैतडी सिगास गाउँपालिका–३ का कृष्णसिंह धामी भन्छन्, ‘प्रत्येक बस्ती र टोलमा सडक पु-याउने भन्दैे भूगोल, माटो, जनसंख्यालगायत कुनै अध्ययन नै नगरी डोजर चलाउँदा जताततै तहसनहस हुँदै छ।’ जथाभावी सडक निर्माणको होडबाजीले खेतीयोग्य जमिन र वनजंगल मासिएका छन्। डोजरले सडकखन्दा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको, वनजंगल विनाश र पानीको मुहान सुक्न थालेको स्थानीय बताउँछन्।

अकालमा ज्यान गुम्दै
कात्तिक ७ गते मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारालाई लामालेक–ढणौन सडकखण्डमा स्काभेटरले किच्यो र उनको मृत्यु भयो। स्काभेटरले सडक काट्ने क्रममा पहिरो खसेर गत वर्ष पुर्चौडी नगरपालिका–१ भकुडाका २२ वर्षीय दिलबहादुर गडालको मृत्यु भयो। स्काभेटरले सडक खनेको हेरिरहेका उनको सडकमाथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएको थियो। मेसिनले हल्लाएको जमिन कमजोर भएर गएको पहिरोमा उनी पुरिएका थिए। उनको शव एक दिनपछि मात्र निकालिएको थियो।

सिंहदरबार गाउँ आउँछ भन्थे तर पहाडमा नरभक्षी सिंह गाउँ पसेजस्तै डोजर आतंक फैलिएको छ।
नेपाल सरकारले सडक निर्माण गर्दा एक करोडसम्मको योजनामा डोजर चलाउन नपाइने परिपत्र गरे पनि स्थानीय सरकारले केन्द्र सरकारको निर्देशन पालन गरेका छैनन्।

२०७४ फागुन ४ गते पुर्चौडी–५ को बित्थड–कुवाकोट सडकखण्डमा स्काभेटर दुर्घटना हुँदा चालक भीमदत्त नगरपालिका–९ कञ्चनपुरका ३८ वर्षीय रामबहादुर रावलको घटनास्थलमै मृत्यु भयो। नगरपालिकाले निर्माण गर्न लागेको कुवाकोट–हाट सडक खन्न जाने क्रममा साँघुरो सडकबाट स्काभेटर खस्दा चालकको मृत्यु भएको थियो। सोही वर्ष फागुन २६ गते दशरथचन्द नगरपालिका–२ को हल्लेक–कुणीभिटा ग्रामीण सडक निर्माण गर्ने क्रममा स्काभेटरमुनि च्यापिएर सहचालक बाँके, कोहलपुर, रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठको ज्यान गयो। प्रतिघण्टाको हिसाबले पारिश्रमिक पाइने भएकाले राति ९ बजे सडक निर्माणका क्रममा सहचालकको मृत्यु भयो।

‘स्काभेटर र डोजरको जथाभावी प्रयोगले अनाहकमा काल निम्ति रहेको छ,’ स्थानीय गणेश सिंह साउदले भने। बझाङमा प्राविधिक स्टिमेटबिना मनोमानी रूपमा सडक कटान गरिँदा जिल्लाका विभिन्न ठाउँमा एक वर्षमा १३ वटा सवारीसाधन दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्। त्यसैगरी जथाभावी सडक खनिएका कारण गएको पहिरोमा परी नौजनाको मृत्यु भएको छ। बिनाअध्ययन नयाँ ट्र्याक खोल्न डोजर, स्काभेटरजस्ता ठूला निर्माण सामग्रीको प्रयोगले जमिन कमजोर भएर पहिरोको जोखिम बढेको छ।

बैतडीमा मात्र नभई सुदूरपश्चिमका सबै पहाडी जिल्लामा स्थानीय तहको निर्वाचनपछि विकासका नाममा डोजरले सडक खन्ने काममा प्रतिस्पर्धा नै चलेको छ। यसले विकासभन्दा पनि विनाश बढी भइरहेको स्थानीय बताउँछन्। स्थानीय तहले करोडौं खर्च गरेर खनेका सडक वर्षासँगै भलले बगाएपछि अधिकतर सडक पहिरोमा परिणत भएका छन्। सडक खन्दा पैदलमार्ग मासिएपछि सर्वसाधारणलाई हिँड्नसमेत गाह्रो भएको छ। पहाडी भूभाग र भिरालो जमिनमा सडक खन्दा मापदण्डबिना पैदलमार्गसमेत मासिने गरी सडक खनिएका छन्।

प्राविधिक इस्टिमेट, वातावरणीय प्रभाव मूल्यांकन नगरी डोजरले खनिएका सडक जोखिमपूर्ण बनेका छन्। जथाभावी सडक निर्माणले भू–क्षय र पहिरोको जोखिम बढ्दै गएको छ।

संघीयतासँगै गाउँमा बढी बजेट आएपछि बजेट कार्यान्वयनको योजना बनाउन नसक्दा अधिकतर स्थानीय तहले सडक, स्काभेटर, डोजर, गाडी आदि साधन खरिदमा बढी रकम खर्चिएका छन्। एउटै गाउँ पुग्न एकभन्दा बढी सडक निर्माण गरेको स्थानीयको गुनासो छ।

स्थानीयको जीवनस्तर सुधार गर्ने, रोजगारीको सिर्जना गर्ने र आर्थिक विपन्न वर्गको हितमा नीति बनाउन सक्ने अधिकार सम्पन्न स्थानीय तहले सडक निर्माणमा बजेट र समय खर्चेको बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए। ‘जनप्रतिनिधिले डोजर भित्र्याएपछि मजदुरको रोजगारी खोसिएको छ,’ उनले भने, ‘रोजागरी सिर्जना हुने गरी विकास योजना बनाउन सकेको देखिएन।’

धमाधम खनिँदै आएका सडकको न डिजाइन इस्टिमेट छ, न वातावरणीय प्रभाव मूल्यांकन नै गरिएको छ। स्थानीय तहले बस्ती व्यवस्थापनको योजना नबनाएर सडक खनिरहेका छन्।

बस्ती व्यवस्थापनको योजना बनाएर सडक निर्माण गर्दा विकास दिगो हुने भए पनि यसतर्फ ध्यान जान सकेको छैन। बैतडीका स्थानीय तहले त्यो मापदण्ड पूरा गरेका छैनन्। प्राविधिक कुराबारे स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडकका विषयमा सम्बन्धित कार्यालय वा शाखासँग समन्वय गर्न सकेका छैनन्। नेपाल सरकारले सडक निर्माण गर्दा एक करोडसम्मको योजनामा डोजर चलाउन नपाइने परिपत्र गरे पनि स्थानीय सरकारले केन्द्र सरकारको निर्देशन पालन गरेका छैनन्। डोजरले रोजगारी खोसेपछि कामको खोजीमा भारत जाने बढिरहेका छन्।

डोजरले विस्थापित
गत साउन २६ गते पर्यावरणीय अध्ययनबिना डोजर चलाएर खनेको सडकमा पहिरो खस्दा बैतडीको सुर्नया गाउँपालिका–८ ढोल्यामा एकै गाउँका पाँच परिवार घर खेत पुरिएपछि विस्थापित भए। विस्थापित परिवारको अहिलेसम्म गाँसबासको ठेगान छैन। मकै भित्र्याएर गाँसको जोहो गर्ने तयारीमा रहेका ढोल्यावासीको सपना डोजरले खनेको सडकको पहिरोमा बिलायो। ‘वर्षभरि छाक टार्ने प्रमुख खेतीका रूपमा रहेको मकैबारी र बस्ने घर पुरिएपछि परिवारको सपना ढलेको छ,’ पहिरोपीडित धौलसिंह बोहराले भने।

सडकमाथिबाट खसेको पहिरोले विस्थापित भएका उनीहरू छिमेकीको घरमा अश्रय लिएर बसेका छन्। पहिरोले गाउँ पूरै जोखिममा छ। पहिरोको शिरानबाट सडक लगेपछि मेलौली नगरपालिका–८ विशालपुरका करिब चार सय ४२ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्। यस्तै पुर्चौडी नगरपालिका–८ मल्लादेहीमा पनि पहिरो जाने क्षेत्रमै सडक लगेपछि बर्खायाममा घरमा बस्न डराउनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।
जिल्लामा डोजरको प्रयोगले धर्ती कमजोर भएर भूक्षयको सम्भावना बढेको रेडक्रस बैतडीका मन्त्री रमेशसिंह भण्डारीले बताए।

यसैगरी बिनापरीक्षण र इस्टिमेट हचुवाको भरमा डोजर प्रयोग गरिँदा बझाङ जिल्लाका अफला, मालुमेला, मौइल, चौडाम, सुवेडा, जाल्तडी, खेती, कुयापानी, बगड, डुग्री, जुई, बगड, तोली, बिडाजा, साइलाबगर, सुनिकोट, चोड बस्टी, धारी सुनकुडा, भाँडे कचाली, जुइल भ्यागुते, वडाकोट, चुहावनलगायत ठाउँ बगरमा परिणत हुनाका साथै ४२ परिवार विस्थापित र पाँच सयभन्दा परिवार पहिरोको उच्च जोखिममा छन्।

अन्न उत्पादनमा ह्रास
डोजर खनेका सडकको पहिरोले पहाडी बस्तीमा खेतीयोग्य जमिन बगरमा परिणत हुँदा उत्पादनमा पनि ह्रास आएको छ। वातावरणमा प्रत्यक्ष र दीर्घकालीन प्रभाव पर्ने यो काम वातावरणीय प्रभाव अध्ययन नगरी भइरहेका छन्। ग्रामीण पहुँच मार्ग, ग्रामीण सडक, कृषि सडक, जडीबुटी पहुँच मार्ग आदिका नाममा बनिरहेका सडक र तिनको सेरोफेरोका धेरै ठाउँमा पहिरो खसिरहेको छ। दुई वर्षअघि सेरा पुग्ने सडक खन्ने क्रममा नहर भत्काइएपछि करिब आठ सय रोपनी धान फल्ने खेत बाँझो बनेको छ। डोजरले जथाभावी थुपारेको माटोको ढिस्को बग्दा भिरालो जमिनमा खोल्साहरू बनेर भूक्षयको सम्भावना बढेको स्थानीय बताउँछन्। सडक खन्दा थुपारिएको माटो बगेर खेतमा पुग्दा अन्न उत्पादनमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कर्णबहादुर चन्दले बताए।

वनसमेत विनाश
कतिपय क्षेत्रमा सामुदायिक वनमा सडक लैजान थालेपछि वन क्षेत्रसमेत विनाशको चपेटामा परेका छन्। डिभिजन वन कार्यालयमा स्थानीय तहको डोजरले वन मासेको उजुरी आउने गरेको वन अधिकृत केशप्रसाद पराजुलीले बताए। उनका अनुसार कयौं सामुदायिक वनका पदाधिकारीले गाउँपालिकाले वन मासेर सडक लैजान खोजेको भनेर पटकपटक उजुरी आइरहेको छ। यस्तो पृष्ठभूमिमा वन कार्यालयले मात्र चाहेर जथाभावी सडक निर्माण रोक्न नसकिने वन अधिकृत पराजुलीको भनाइ छ। विकास बजेट खर्चेर जिल्लाका स्थानीय तहले आफैं डोजर, स्काभेटर खरिद गरी सडक खन्न थालेका छन्। गाउँगाउँमा सडक पु-याउने भन्दै मेसिनले डाँडाकाँडा चिरिएका छन्। जता वन त्यतै सडक खन्न थालेपछि वन क्षेत्र मासिँदै गएको छ।

राजमार्गमा क्षति
मापदण्डविपरीत डोजर चलाउँदा गएको पहिराले महत्वपूर्ण राजमार्गमा समेत क्षति पुगेको छ। बझाङको जयपृथ्वी राजमार्गमा माथिबाट पहिरो आएर क्षति हुँदै गएको छ। ‘घरको आँगनमा जयपृथ्वी राजमार्ग छ। माथिबाट सडक खनिँदा राजमार्गमा पहिरो खसेर दैनिक पुरिँदै गएको छ,’ बझाङ छबिस पाथिभरा गाउँपालिका–१ मोराका रमेश गिरी भन्छन्, ‘कतिखेर यो राजमार्गमा दुर्घटना भएर कयौंले अकालमै ज्यान गुमाएको देख्नुपर्छ कि भनेर पिरलो भएको छ।’ राजमार्गमा पूरै क्षति हुँदै जाँदा पनि कसैले ध्यान नदिएको उनको भनाइ छ। यसो नगर भन्दा उल्टै आफूलाई धम्की दिने गरेको उनी बताउँछन्।

जयपृथ्वी राजमार्गलाई क्षति पुग्ने गरी सुनकुडा, धरान बजार, देरा, मोरी, गिठिपाटा, मोरा, भाँडे तुफान डाँडा, कचाली, देवल, सिमखेत बाउली, सिमभाडीलगायत १८ भन्दा बढी ठाउँमा राजमार्गमाथि जथाभावी सडक कटान गरिरहेका छन्। वर्षात्मा पहिरो र खोलाले घन्टैपिच्छे सडक जाम हुँदा दुई घण्टा लाग्ने बागथलादेखि सदरमुकाम चैनपुरसम्म पुग्न ६ घण्टाभन्दा बढी लाग्ने गरेको ना१ख १७८ मालिका यातायातका चालक उमेश बिष्टले बताए।

‘सडकको अवस्था निकै दयनीय छ, सडक मर्मत र निर्माणका लागि कसैले चासो देखाएका छैनन्,’ उनले भने, ‘कतिखेर गाडी चिप्लेर आफू र यात्रुको एकै चिहान हुन्छ भन्ने डरले सताइरहन्छ।’ जिल्लाको एक मात्र जयपृथ्वी राजमार्गमा दैनिक साना–ठुला गरेर सयभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। यो मात्र नभई अन्य राजमार्ग र मूलसडक पनि क्षति हुन थालेका छन्। हचुवाका भरमा डोजर खनेका सडकमा गएको पहिरोले कैयौं मूल सडकमा ठूलो क्षति पुगिरहेको सडक इन्जिनियर मोहनप्रसाद हमालले बताए। ‘मूल सडकबाट सहायक सडक बनाउँदा अध्ययन नै नगरिँदा मूल सडक नै जोखिममा परेका छन्,’ उनले भने।

सडक निर्माण गर्दा सबैभन्दा पहिले सम्भाव्यता अध्ययन गरिनुपर्ने र त्यसपछि डिपिआर बनाउनुपर्ने हुन्छ। माटो, भूगोल, बस्ती, वनजंगल सबैको अध्ययनपछि सडक लैजानु उपयुक्त छ कि नै भनेर निर्णय गरिने भए पनि हचुवाका भरमा जहाँ मन लाग्यो त्यहाँ डोजर चलाउँदा समस्या भएको विज्ञहरू बताउँछन्। ‘सुरुमा माटो, भूगोल, जंगल, बस्तीलगायतमा त्यसले असर पार्छ कि ? कुनै क्षति पुग्छ कि ? भनेर विस्तृत सम्भाव्यता अध्ययन गरिन्छ, त्यसपछि उपयुक्त भएमा डिपिआर बनाएर सडक खन्न सुरु गरिनुपर्ने हो’ सडक इन्जिनियर हमाल भन्छन्, ‘अहिले मापदण्डविपरीत हचुवाका भरमा सडक बनाइँदा समस्या भएको हो।’ सडक विभागअन्तर्गत सडक बनाउँदा सबै मापदण्ड पूरा गरेर बनाइने गरे पनि स्थानीय तहले बनाएकोमा लागू नभएको उनको भनाइ छ। सडक बनाइँदा आवश्यकताअनुसार इआइए र आइइई गरिनुपर्नेमा यहाँ बनाइएका सडकले कुनै मापदण्ड पूरा गरेका छैनन्।

चालकले नै मन लागेको ठाउँमा डोजर चलाएर काटेका पहाडका अधिकतर सडक जोखिमपूर्ण रहेको प्राविधिक बताउँछन्। प्राविधिकको सल्लाह नलिई उपभोक्ता र ठेकेदारको इसारामा डोजर चालकले मनपरी सडक खन्दा जमिन कमजोर बनेको बैतडी स्वतन्त्र विचार मञ्चका अध्यक्ष गणेश ठकुराठीले बताए। पहिराको कारण व्यक्तिगत घर–टहरा, सरकारी संरचना र खेतीयोग्य जमिन जोखिममा छन्। पहिरोको प्रकृति हेर्दा त्यो जथाभावी डोजर चलाएकै कारण भएको उल्लेख गर्दै सडक डिभिजन कार्यालय बैतडीका प्रमुख शंकर खनालले भने, ‘डोजर चलाएकै कारण यी पहिराहरू गइरहेका छन्।’

Share.

About Author

Leave A Reply