सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको चौथो साधारण सभा सम्पन्न

0

महेन्द्रनगर, श्रावण ४
कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको चौथो साधारण सभा आज सम्पन्न भएको छ । २३ सय ५२ घरधुरीलाई शुद्ध खानेपानी वितरण गरी रहेको संस्थाले आज एक कार्यक्रमको आयोजना गरी चौथो साधारण सभा सम्पन्न गरेको हो । सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष थानेश्वर प्रसाद भट्टको सभापतित्वमा सम्पन्न साधारण सभाका प्रमुख अतिथि सुडा सहरी खानेपानी आयोजना कार्यान्वयन इकाई प्रमुख तथा ईन्जिनियर बसन्त रायमाझी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सञ्चालन गरेको खानेपानी आयोजनाबाट शुद्ध खानेपानीको आपुर्ति भएपछि मानव शरीरमा लाग्ने ८० प्रतिशत रोगबाट स्थानियहरु मुक्त हुन सक्ने उहाले बताउनु भयो । यो खानेपानी आयोजना एउटा कार्यसमितिको मात्र नभएको बताउदै उहाले खानेपानी आयोजना दिगो र निर्वाध रुपमा संचालनका लागि सम्पुर्ण उपभोक्ताहरुले लाग्नु पर्ने रायमाझीले बताउनु भयो । सानातिना योजनाहरुमा सरकारले लगानी गर्न छोडेकाले अब स्थानिय सरकार र स्थानिय स्वयमंले यस्ता योजनाहरु सुचारु गर्नका लागि आआफ्नो भुमिका निर्वाह गर्नु पर्ने उहाको भनाई छ । सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष तथा साधारण सभाका सभापति थानेश्वर प्रसाद भट्टले २० वर्षे दिगो योजना अनुसार ४४ सय घरधुरीलाई शुद्ध खानेपानी वितरण गर्ने उद्येश्य रहेको बताउदै खानेपानी आयोजना सफलता पुर्वक संचालन गर्नका लागि सवै पक्षको सहयोग आवश्यक रहने बताउनु भयो । कार्यक्रममा सहभागि वेदकोट नगरपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष वीर बहादुर डगौराले सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानी योजना यो ठाउमा सञ्चालन गर्नु यहाको सौभाग्य भएको बताउदै खानेपानी योजना सफलता पुर्वक संचालन गर्नका लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । साथै उहाले आयोजनाले आर्थिक समृद्धि र स्वथ्य जीवन निर्वाह गर्न सहयोग पुर्याने समेत बताउनु भयो । त्यसैगरी वेदकोट नगरपालिकाको वडा नम्बर ८ का वडा सदस्य उत्तरसिह भाटले यो खानेपानी योजनाले यहाका वासिन्दाहरुको जीवनस्तर माथि उकास्नमा सहयोग पुर्याउने बताउनु भयो । भीमदत्त नगरपालिकाको वडा नम्बर १ का वडा सदस्य कालुराम डगौराले अहिलेको जलवायु परीवर्तनको अवस्थामा पानीका मुहान सुक्दै गएको अवस्थामा यो आयोजनाले मावन जीवनलाई दिगो फाइदा पुर्याउने बताउनु भयो । साथै उहाले खानेपानीको शुल्क महङ्गो भयो भनेर जनगुनासा आउनु सहि नभएको बताउनु भयो । सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सञ्चालन गरेको खानेपानी आयोजनाले वेदकोट नगरपालिकाको वडा नम्बर ६ को पुर्व पश्चिम राजमार्ग भन्दा माथि, वडा नम्बर ७ वडा नम्बर ८ र भीमदत्त नगरपालिकाको वडा नम्बर १ का वासिन्दाहरुलाई शुद्ध खानेपानी प्रदान गरी रहेको छ । कार्यक्रममा आर्थिक प्रतिवेदन संस्थाका लेखापाल लक्ष्मी चपाई भट्टले प्रस्तुत गर्नु भएको थियो भने प्रगति प्रतिवेदन संस्थाका सचिव जयदेव जोशीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उपस्थितहरुलाई स्वागत मन्तव्य सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुख तुलसी जोशीले राख्नु भएको थियो ।

Share.

About Author

Leave A Reply