सुदुरपश्चिम प्रदेशमा पर्यटकको सङख्यामा कमी

0

महेन्द्रनगर, भाद्र २२
सुदूरपश्चिम प्रदेशमा विदेशी पर्यटक आगमन संख्यामा अझैं वृद्धि हुन सकेको छैन । सरकारी निकाय र निजि क्षेत्रबाट पर्यटक भित्र्याउनका लागि विभिन्न प्रचारप्रसार अभियान लगायत गतिविधि भए पनि विदेशी मुलुकहरूबाट सुदूरपश्चिम घुम्न आउने पर्यटकको संख्या भने गतविगत जस्तै रहेको छ । सुदूरपश्चिममा खप्तड, बडीमालिका, शुक्लाफाटा, रामारोशन लगायतका पर्यटकीय स्थल छन् । पर्यटक भित्र्याउनका लागि यो क्षेत्रको पर्यटकीय गन्तव्य प्राथमिकतामा पर्न नसक्नुले पर्यटक संख्यामा बृद्धि हुन नसकेको पर्यटन व्यवसायीले गुनासो गर्दै आएका छन् । यद्यपि, पछिल्लो समय नेपाल सरकारले यो प्रदेशको केहि पर्यटकीय स्थललाई पर्यटन गन्तव्यको रुपमा पहिचान गरेको छ । भारतको स्थलमार्ग हुदै कैलाली भन्सार नाका भएर नेपाल भित्रिने विदेशी पर्यटकको संख्या न्युन छ । यो नाका भएर सन् २०१८ मा ८३ जना विदेशी पर्यटक भित्रिएका थिए भने ६८ जनाले प्रस्थान गरेका थिए । त्यस्तै, सन् २०१९ अगष्टसम्म कैलालीको त्रिनगर नाका भएर ५५ विदेशी पर्यटक आगमन गरेका छन भने ४८ जनाले प्रस्थान गरेको जनाईएको छ । भारतको दिल्लीबाट त्रिनगर नाका छोटो दुरी मानिन्छ । दिल्लीबाट आउने विदेशी पर्यटकहरू सो नाकाबाट आउने गरेका छन् । अध्यागमन कार्यालयले दिएको तथ्यांक अनुसार सो नाका भएर सन् २०१९ का आठ महिना अगष्टसम्ममा आएको कुल पर्यटनमध्ये सबैभन्दा बढी अष्टे«लियाका पर्यटक रहेका छन् । कार्यालयका अनुसार यस वर्ष अष्ट्रेलियाका १३ पर्यटक यस नाकाबाट आएका थिए । सन २०१८ मा कुल पर्यटकमध्ये संयुक्त राज्य अमेरिकाका २७ जना पर्यटक यो नाका भएर आएका थिए । कैलाली भन्सार नाका भएर खास गरेर अमेरिका, श्रीलंका, जर्मनी, फ्रान्स, कोरिया, मलेसिया, इटली, रसिया, स्पेन लगायतका देशका पर्यटकहरूको आउजाउ हुने गरेको अध्यागमन कार्यालयको तथ्यांकमा उल्लेख छ । कैलालीबाट भारतको राजधानी दिल्ली नजिक भए पनि दिल्ली र आगराबाट नेपाल आउन चाहेका पर्यटकहरू यो नाका भएर थोरै आउने गरेका अध्यागमन कार्यालयले जानकारी दिएको छ । दिल्ली पुगेका प्रायः पर्यटकहरू हवाई मार्ग भएर सिधैं काठमाडौं जाने गरेका छन । पर्यटक आगमन बढ्न नसक्दा धनगढीमा रहेको अध्यागमन कार्यालय प्रायः समय सुनसान देखिन्छ । कैलाली भन्सार नाका भएर नेपालमा पर्यटक भित्र्याउनका लागि प्रचार प्रसार र भारतबाट प्रोत्साहन नभएकाले संख्यामा बढोत्तरी हुन नसकेको अध्यागमन कार्यालय प्रमुख यादव भण्डारीले बताउनु भयो ।

Share.

About Author

Leave A Reply