सुदूरपश्चिममा पनि फोरजी सेवाको उद्वघाटन

0

महेन्द्रनगर, असोज १५
नेपाल टेलिकमले सुदूरपश्चिममा पनि फोरजी सेवाको उद्वघाटन गरेको छ । कैलाली र कञ्चनपुरका विभिन्न सहरमा विस्तार गरिएको फोरजी सेवाको बुधवार धनगढीमा उद्धघाटन गरिएको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले फोरजी सेवाको उद्धघाटन गर्नु भयो । नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार दुई जिल्लाका विभिन्न सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य अनुसार आज बुधवार उद्वघाटन गरिएको हो । त्यसका लागि १२ वटा टावरको निर्माण गरिएको थियो । नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले कैलाली र कञ्चनपुरमा पुर्वपश्चिम राजमार्गमा रहेको सहरसंगै हुलाकी राजमार्गमा रहेको धनगढी र फुलवारी क्षेत्रमा फोरजी सेवा सुरु भएको बताउनु भयो । धनगढी, महेन्द्रनगर, टीकापुर, चिसापानी, लम्की, सुख्खड, अत्तरिया, झलारी, फुलवारी लगायतका सहरमा आज बुधवारदेखि फोरजी सेवा सुरु भएको उहाले बताउनु भयो । अहिले कैलाली र कञ्चनपुर जिल्लाका मुख्य सहरमा मात्रै फोरजी सेवा विस्तार गरिएको बताउँदै उहाले माघ मसान्तसम्म सुदूरपश्चिमभरी नै फोरजी सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनु भयो । सुरुमा सबै महानगरपालिका, उपमहानगरपालिका र धेरै जनसंख्या भएका नगरपालिकामा फोरजीको व्यवसायिक सेवा सुरु गर्ने लक्ष्य अनुसार कैलाली र कञ्चनपुरमा १२ वटा टावर निर्माण गरिएको थियो । आगामी माघ भित्र भने सुदूरपश्चिमका तीन सय ६१ स्थानमै फोरजी सेवा विस्तारको लक्ष्य रहेको नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरियाले जनाएको छ । यस्तै नेपाल टेलिकमले कैलाली, कञ्चनपुर सहित अन्य देशका ३० जिल्लामा बुधवारदेखि नै फोरजी सेवा विस्तार गरेको छ । यसअघि काठमाडौं र पोखरामा मात्र उपलब्ध फोर जी सेवा हाल सातै प्रदेशका कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको हो । मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने अपेक्षा छ ।

Share.

About Author

Leave A Reply