सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूले ल्यापटप बुझे

0

महेन्द्रनगर, भाद्र ३
प्रदेशसभा सचिवालयले उपलब्ध गराउने ल्यापटप लिने कि नलिने भनेर विभाजित भएका सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूले अन्ततः ल्यापटप बुझेका छन्। सरकारी ढुकुटी खर्च गरेर प्रदेशसभा सदस्यहरूका लागि ल्यापटप खरिद गरिएको हो। २७ लाख रुपैयाँभन्दा बढी खर्च गरेर प्रदेशसभा सदस्यका लागि ४६ थान ल्यापटप खरिद गरिएको थियो। हालसम्म २८ जना प्रदेशसभा सदस्यहरूले ल्यापटप लगिसकेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। अब १७ जनाले मात्रै लिन बाँकी रहेको छ। यसअघि, सत्तापक्षकै केही सदस्यले जनप्रतिनिधिले ल्यापटप लिन नहुने तर्क गर्दै आएका थिए। यसैगरी, प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूले पनि सरकारी ढुकुटी खर्चेर खरिद गरेको ल्यापटप लिन नहुने ‘लविङ’ गर्दै आएका थिए। तर, राज्यले दिएको सुविधा भएको भन्दै अन्ततः उनीहरूले ल्यापटप लिएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही प्रदेशसभा सदस्य र राष्ट्रिय जनता पार्टीका दुवै जना प्रदेशसभा सदस्यले ल्यापटप लगिसकेको प्रदेश सचिवालयले जानकारी दिएको छ। सरकारी ढुकुटी खर्चेर प्रदेशसभा सदस्यलाई ल्यापटप बाँड्ने कार्यको यसअघि, विरोधसमेत भएको थियो। यद्यपि, प्रदेशसभा सदस्यहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ल्यापटप वितरण गरिएको जनाइएको छ। प्रदेशसभा सदस्यहरूलाई ल्यापटपको व्यवस्था गर्नका लागि गत आर्थिक वर्षमै निर्णय गरेर बजेटको व्यवस्था गरिएको थियो। प्रतिल्यापटपको खरिद रुपैयाँ ६० हजार खर्चिएको जनाइएको छ। खरिद् भएको ४६ थान ल्यापटपमध्ये २८ वटा वितरण भइसकेको प्रदेशसभा सचिवालय स्टोर शाखाका कर्मचारी युवराज जोशीले बताउनु भयो । प्रदेशसभा सदस्यहरूलाई एकसाथ ल्यापटप वितरण गरिएको छैन। केहीले साउन २९ गते प्रदेशसभा बैठक सम्पन्न भएपछि ल्यापटप बुझेका थिए भने, केहीले भदौ १ गते बैठक समापनपछि लिएका थिए । सुदूरपश्चिम प्रदेशसभामा सदस्य संख्या ५३ रहे पनि आठ जना सरकारमा सहभागी भएका छन्। उनीहरूका लागि सचिवालयले ल्यापटप खरिद गरेको छैन। कार्यकाल सकिएपछि प्रदेशसभा सदस्यहरुले चल्ने अवस्थामा नै ल्यापटप फिर्ता गर्नु पर्ने सचिवालयले जानकारी दिएको छ।

Share.

About Author

Leave A Reply