५ करोड १० लाख बराबरको राजश्व छलीका सामान बरामद

0

महेन्द्रनगर, श्रावण ४
सुदूरपश्चिमकै प्रमुख नाका कैलालीको त्रिनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७५,०७६ मा ५ करोड १० लाख बराबरको राजश्व छलीका सामान बरामद भएको जनाएको छ । दैनिक लाखौंको छली हुने उक्त नाका क्षेत्रबाट बरामद गरिएको उक्त परिमाण र राजश्व अत्यन्तै न्यून हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालय आफ्नै गस्ती टोलीले कर छली गरि भित्र्याइदै गरेका व्यापारिक सामग्रीहरु बरामद गरेका हुन् । त्यसक्रममा सशस्त्र प्रहरीले ४ सय ४ मुद्दामा २ करोड ८६ लाख बराबरको अवैध सामग्री बरामद गरी त्रिनगर भन्सार कार्यालयमा दाखिला गरेको जनाएको छ । सशस्त्रले बरामद गरेका सामग्रीहरुमा ५६ वटा मोटरसाइकल, २ वटा जीप, ट्याक्टर, ७ वटा अटोरिक्सा लगायतका सवारी तथा ढुवानीका साधनहरु पनि रहेका छन् । धनगढीस्थित सशस्त्र प्रहरी बल ३४ नम्बर गणका गणपति विष्णुप्रसाद भट्टका अनुसार त्यस कार्यमा संलग्न ४२ जनालाई पक्राउ गरि भन्सारमा बुझाइएको हो । यस्तै कैलाली प्रहरीले १ सय ७७ मुद्दामा २ करोड ३ लाख बराबरको भन्सार छलीको सामग्रीहरु बरामद गरी भन्सारमा दाखिला गरेको छ । भन्सार कार्यालयको आफ्नै गस्ती टोलीले १८ वटा मुद्दामा ४ लाख ८१ हजार बराबरको सामग्री बरामद गरेको जनाएको छ । भन्सार अधिकृत गोपीकृष्ण उप्रेतीका अनुसार वर्षभरि भन्सार छलीका कूल ६ सय ४६ वटा मुद्दा भएका छन् । कार्यालयमा दाखिला गरिएका सामग्रीबाट २ करोड ४४ लाख आम्दानी भएको अधिकृत उप्रेतीले बताउनु भयो । हार्डवेयर, कपडा, चिनी लगायत खाद्यवस्तु यस क्षेत्रबाट छली हुने अवैध रुपमा भित्र्याइने गरेको सुरक्षाकर्मीहरुले बताएका छन् ।

Share.

About Author

Leave A Reply